कांग्रेस नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् । आज (शनिबार) जनकपुरमा कांग्रेसको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा उनले यस्तो बताएका हुन् ।
कांग्रेसका नेता–कार्यकर्ताले लामो समयसम्म पनि आफ्नो पार्टीको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै उनले यो सही भएको बताए । ‘लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । साथीहरूले सही कुरा भन्नु भएको छ’, उनले भने, ‘यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागि पर्छौं ।’
‘हामी अहिले संयुक्त सरकारमा छौं । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन्’, उनले भने, ‘दुईटा पार्टी र दुईटामा पनि प्रतिस्पर्धी पार्टीका बीचमा सरकार संयुक्त रूपमा सञ्चालन गर्ने कुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् ।’ गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताएका छन् । पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको उनले जिकिर गरेका छन् ।