युवा संघको महाधिवेशन : निर्वाचन माग गर्दै नाराबाजी
बालकोटलाई पुरीको काउन्टर, तीन समूहको शक्ति प्रदर्शन

पोखरा । सत्तारुढ नेकपा एमाले निकट युवा संघको राष्ट्रिय दशौं महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ। पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन्।
निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन पुरी र महाराजा गुरुङ तीन जनाको समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको हो।महाधिवेशनस्थलमा थेबेका समर्थकले उनलाई अध्यक्ष बनाउनु पर्ने माग गर्दै नाराबाजी गरेका थिए। त्यस लगत्तै पुरी समर्थकको नाराबाजीका साथ महाधिवेशनस्थलमा प्रवेश गरेका थिए।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेलाई अध्यक्ष दोहोर्याउन अध्यक्ष मण्डललाई निर्देशन दिइसकेका छन्, तर महासचिव पुरी यस पटक अध्यक्ष नछाड्ने अडानमा छन्। आकांक्षी धेरै भएकाले अरुको नाममा सहमति हुन नसकेको भन्दै क्षितिज थेबेलाई पुनः अध्यक्षमा सर्वसम्मत गराउने रणनीति अपनाइएपछि नाराबाजी भएको हो । प्रतिनिधि व्यवस्थापन प्रमुख राज गुरुङका अनुसार आज मनोनयन भएर भोलि मतदान हुनेछ । महाधिवेशन स्थलमा ठूलै मात्रामा प्रहरी परिचालन समेत गरिएको छ। शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनमा १,७०० प्रतिनिधि छन्।