गृहमन्त्रीको प्रश्न : कर्मचारीमाथि अनुसन्धान हुँदा मैले किन दिनु पर्ने राजीनामा ?


२०८२ जेठ १० शनिबार ०३:२२ बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका सबै आरोप गलत भएको दाबी गरेका छन् । काठमाडौंमा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा आएपछि लेखकको आलोचना भइरहेको छ । उनले आफ्नो राजनीतिक जीवनमा एउटा मात्र आर्थिक अनियमितता प्रमाणित भए मन्त्री मात्र नभई राजनीति नै छोड्ने बताए ।

‘मलाई लागेको सबै आरोप गलत हुन् । आरोप साँचो सावित भए मन्त्री पद मात्र होइन, राजनीति नै छोड्छु’, उनले भने । यसअघि जनकपुरमा भएको एक कार्यक्रममा पनि गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप सही ठहरिए राजनीतिमै देखा नपर्ने बताएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको समेत बताएका छन् ।

‘मेराविरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’ 

उनले यसबारे थप प्रष्ट पार्नका लागि आगामी १३ गते प्रतिनिधिसभामा समय लिइसकेको समेत जानकारी गराए । उनले गृह मन्त्रालय अन्तर्गत लाखको संख्यामा कर्मचारी रहेको भन्दै जुनसुकै बेला जुनसुकै कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताए । ‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छ । यत्रा कर्मचारीमा कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,’ उनले थपे, ‘अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदै गर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? त्यही पद्धति बसाउने जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७