गृह मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई भर्खरै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हिजो बेलुकी मात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए । आज (बुुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । कार्यालयमा छापा मारेर अख्तियारले महत्वपूर्ण कागजात र विद्युतीय डिभाइसहरू नियन्त्रणमा लिएको छ ।
विदेश जाने कामदारबाट चर्को रकम असुली गरिएको सूचनापछि अख्तियार टोलीले कार्यालयमा छापा मारेको हो । कर्मचारीको सेटिङमा असुलीधन्दा बढेपछि अख्तियारले त्यसबारे बुझ्न कागजात र डिभाइस नियन्त्रणमा लिएको हो । कार्यालयमा जान कर्मचारीबाटै ५-७ लाखसम्म असुली हुने गरेको छ। अख्तियारको टोली कार्यालय पुगेर कागजात र डिभाइस नियन्त्रणमा लिएको कार्यालय स्रोतले जनाएको छ ।
हिजो मात्र गृह मन्त्रालयले कार्यालयका प्रमुख तीर्थराज भट्टराईको सरुवा गरेर त्यहाँ नयाँ सहसचिव पठाएको छ । कार्यालय प्रमुखसँग सम्बन्धित कागजात र डिभाइस पनि अख्तियारले नियन्त्रणमा लिएको छ । स्रोतको दावीअनुसार अख्तियारले भट्टराईसँग सोधपुछ र फारम पनि भराएको छ । भट्टराई गत २३ कात्तिकमा कार्यालयमा हाजिर भएका थिए ।