तीनकुने घटना : दुर्गा प्रसाईमाथि व्यक्ति हत्यासहित पाँच कसुरमा बयान थालियो


२०८२ बैशाख १० मंगलबार १५:४६ बजे

काठमाडौं । काठमाडौं तीनकुनेको राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाका जनकमाण्डर दुर्गा प्रसाईको बयान लिन थालिएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईको बयान थालिएको हो । सोमबारबाट प्रसाईंको बयान लिने काम सुरु भएको सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिएका छन् । समय अभावका कारण सोमबार थोरै समय प्रसाईंको बयान लिइएको थियो । आज मंगलबार फेरि बयान सुरु भएको काफ्लेले बताएका छन् ।

सरकारी वकिल स्रोतका अनुसार प्रसाईंविरुद्ध ज्यानसम्बन्धी कसुरको कर्तव्य ज्यानको कसुरमा समेत अनुसन्धान गरेर बयान लिन थालिएको छ । यस्तै ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ । राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई किच्ने गरी गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । सार्वजनिक भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई किचौलाझै गरी गाडी अगाडि बढाएको देखिन्छ । प्रसाईलाई पहिलो पटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिइएको थियो ।

अन्य कसुर भने पछि थपिँदै गएको सरकारी वकिल कार्यालयले जनाएको छ। तीनकुने घटनामा पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । प्रसाई भारतको आसामबाट २८ चैतमा पक्राउ परेका थिए । २९ चैतमा काठमाडौं ल्याएर उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ । झापाका प्रसाईले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका थिए । राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो ।

तर सो प्रदर्शन हिंसात्मक बन्दा व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । निजी सम्पत्तिमा ठूलो क्षति भयो । सवारी साधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । १५ चैतको घटनामा पक्राउ पर्नेको ८४ संख्या पुगेको छ । राप्रपा महामन्त्री तथा सांसद धवल शमशेर राणासहित भाटभटेनीका फलफूल टिप्ने केहीलाई भनेर हिरासत मुक्त गरेर अनुसन्धान अघि बढाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७