अष्टलक्ष्मी शाक्यको प्रश्न : इमानदार भएकै कारण विद्या भट्टराईले राजीनामा दिनु परेको हो ?

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाको विषयलाई लिएर सत्तारुढ एमालेकै नेताहरूले विभिन्न कोणबाट टिप्पणी गरिरहेका छन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामाले उनको नैतिक धरातल अझै उच्च बनाएको टिप्पणी गरेकी छिन् । इमानदार भएकै कारण उनले राजीनामा दिनुपरेको हो ? भनेर समेत उनले प्रश्न उठाएकी छिन् ।
प्रधानमन्त्रीको असहयोग र दबाबका कारण उनले राजीनामा दिएको विषय बाहिर आएपछि शिक्षामन्त्रीलाई किन सहयोग भएन भनेर समेत प्रश्न उठाएकी छिन् । एमाले सांसद समेत रहेकी भट्टराईले हिजो (सोमबार) शिक्षामन्त्री पदबाट राजीनामा दिएकी छन् । उनको राजीनामापछि पार्टीभित्र तर्क वितर्क चलिरहेको छ । भट्टराईलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गर्दा राजीनामा आएको भनेर एमालेका कतिपय नेताहरूले टिप्पणी समेत गरेका छन् । यसैबीच उपाध्यक्ष शाक्यले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रश्न गरेकी हुन् ।
उनले फेसबुकमा लेखेकी छिन्–
शिक्षक आन्दोलन चलिराखेको वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ? उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैका लागि सधैँ प्रेरणा बनोस् ।