कक्षा १२ को परीक्षा नसर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने भएको छ । आज (मंगलबार) बसेको बोर्ड बैठकले परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको एक सदस्यले बताए ।
बिहीबार (वैशाख ११ गते) देखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ । तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित हुने देखिएपछि यसबारे निर्णय लिन आज बोर्ड बैठक बोलाइएको थियो । यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका थिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।
तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने ।