पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

बाँके । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ । तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा. खिमानन्द खनालले बताए ।
‘धेरै वर्षदेखि मानखोलाले जमिन कटान गर्दै आएको थियो । पछिल्लो दुई वर्षमा तीव्र कटान हुन थालेको छ’, उनले भने, ‘पछिल्लो वर्षमा मात्रै करिब डेढ बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर बगाएको छ ।’ यो वर्ष तटबन्धन गर्न नसकिए थप दुई बिघा जमिन कटानको जोखिममा रहेको खनालले जानकारी दिए । दुई वर्षसम्म पनि तटबन्धन गर्न नसकिए मानखोलाले पशु प्रजनन कार्यालय सँगसँगै गुराँसपुर बस्तीमा पस्ने खतरा बढ्दै गएको उनले बताए ।
कटान रोकथामका लागि पटकपटक मन्त्री, सचिव, महानिर्देशक र सरोकार भएका निकायमा पहल गरे पनि आवश्यक बजेट उपलब्ध हुन नसक्दा समस्या बढ्दै गएको उनको गुनासो छ । उनका अनुसार यहाँ गरिँदै आइएको जौ घाँस र डाले घाँसको रुख बर्खामा आउने बाढीले कटान गरेर लैजाने गरेको छ ।
कटान रोक्न तटबन्धको व्यवस्था नभए मानखोला खेतीयोग्य जमिनमा पसेर ठूलो धनजनको क्षति पुर्याउने कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताए । उनका अनुसार जिल्ला सदरमुकाम नेपालगञ्जबाट १५ किलोमिटर पश्चिमतर्फ रहेको खजुरा–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा कार्यालय अवस्थित छ । दुई हेक्टरमा वन जङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँस खेती गरिएको उनले जानकारी दिए । यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका नौ–नौ वटा र लुम्बिनी प्रदेशका छ जिल्ला गरी कूल चौबिस जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको छ ।