अध्यक्ष लिङ्देन पक्राउपछि राप्रपाको चेतावनी : अधिकार कुण्ठित गर्न खोजे प्रतिकार गरिन्छ


२०८२ बैशाख ८ आइतबार ००:३० बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन गर्दा आफ्ना अध्यक्षसहितका नेताहरुलाई पक्राउ गरेर संविधान प्रदत्त अधिकार हनन गरेको आरोप लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पक्राउ परे लगत्तै आकस्मिकरुपमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो प्रतिक्रिया दिएको हो ।

‘सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ।’

पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको समेत बैठकले ठहर गरेको छ  नेताहरु पक्राउपछि बसेको आकस्मिक बैठकले सरकारकोे रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, ‘अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ । यसको सर्वत्र विरोध गरिनु पर्छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरुको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ ।’


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७