वाह ! अनुकरणीय शिक्षक आन्दोलन
यसपालिको शिक्षक आन्दोलनमा शिक्षकहरुले देखाएको अभिरुची, धैर्यता, अनुशासन, शिष्टता अनि लगनशिलता उल्लेखनीय रहेको छ । शिक्षक आन्दोलन तीन हप्ता पूरा हुने दौरानमा पुग्दासम्म पनि सहभागिता झन–झन बढ्दो क्रममा रहेको देखिन्छ

नेपाली शिक्षकहरुले विगतको राजतन्त्र–पञ्चायती शासन व्यवस्थादेखि प्रजातन्त्रिक शासन व्यवस्थासम्म आन्दोलनमार्फत आफ्ना पेसागत मागहरु पूरा गर्दै आएको इतिहास छ । यद्दपी, मुलुक वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुग्दा समेत शिक्षकहरुले आफ्ना कतिपय मागहरु आन्दोलनकै बलमा प्राप्त गर्नुपरिरहेको अवस्था छ ।
वि.सं.२०३६, २०७५, २०७८ होस् या २०८० सालमा नेपालको विद्यालय शिक्षकहरुले कैयन पटक शान्तिपूर्ण सडक आन्दोलन गर्दै आएका छन् । सहमति सम्झौता भएका धेरै कुरामा सरकार पक्षबाट पटक–पटक धोका भएता पनि, केही न केही सफलीभूत भएका दृष्टान्तहरु पनि छन् । विद्यालय शिक्षक कर्मचारीका पेसागत हकहित एवम सेवा सुविधा अनि ट्रेड युनियन अधिकारको निम्ति मात्र नभइ घोषित या अघोषित मुलुकको अग्रगामी हर महत्वपूर्ण आन्दोलनहरुमा समेत नेपाली शिक्षकहरुको उल्लेखनीय सहभागिता रहँदै आएको छ।
नेपाली शिक्षक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि पल्टाउँदा वि.सं. २०३६ जेठ २ बाट शुरु भएको ‘१० महिने आन्दोलन’, वि.सं. २०३८ सालको ‘१०४ दिने आम शिक्षक हड्ताल’ त्यसैगरी २०४१ सालको ‘६ महिने असहयोग आन्दोलन’ हरुको परिणामस्वरुप तत्कालीन राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको सरकारहरुबाट शिक्षकहरुको थुप्रै पेसागत हकहित एवम् सेवा सुविधाहरु सुनिश्चिता गराउन सफल भएको इतिहास जगजाहेर छ । यस प्रकार नेपाली शिक्षकहरुलाई हाल प्राप्त जे जति पेसागत एवम् व्यावसायिक सेवा सुविधा, दक्षता अभिवृद्धिका अवसरहरुमा विगतका शिक्षक आन्दोलनहरुको उल्लेखनीय भूमिका अवश्य समाहित भएको छ, अन्नु अतिशयोक्ति नहोला ।
नेपाली शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनकै माध्यमबाट सरकारलाई आफ्ना पेसागत सेवा सुविधा तथा वृत्ति विकाससम्बन्धी अनेकन मागहरु पूरा गराउन सफल भएको इतिहास छ । ३० को दशकमा शिक्षकहरु स्वतःस्फूर्त आन्दोन गरे । तत्कालीन सरकारबाट पेसागत हकहितका सेवा सुविधा प्राप्त गर्नका साथै शिक्षकका हक अधिकारको निम्ति विशुद्ध गैरराजनैतिक संस्था ‘नेपाल राष्ट्रिय शिक्षक संगठन’ समेत स्थापना गरे । अनि यसैमा गोलवद्ध हुँदै आएका शिक्षकहरु प्रजातन्त्रको पुनस्र्थापना पश्चात विभिन्न राजनैतिक दलका भातृ संस्थाको रुपमा खडा भएका करिव साढे दुई दर्जन शिक्षक संघ–संगठनमा गोलवद्ध हुन पुगे ।
तथापि, सामुहिक पेसागत हकहित र सेवा सुविधाको सशक्त सौदाबाजीको निम्ति ६० को दशकमा ‘शिक्षक युनियन’ र ७० पश्चात हाल ‘नेपाल शिक्षक महासंघ’ मा गोलवद्ध भएर ‘शिक्षक एकता जिन्दावाद’ को नारासहित आन्दोलित हुँदै आएका छन् । हाल, नेपाल शिक्षक महासंघ नै सम्पूर्ण शिक्षकहरुको साझा छाता संस्था हो र यसैको नेतृत्वमा आन्दोलन–कार्यक्रमहरु हुँदै आएको छ । ‘एकता नै बल हो ।’ भन्ने कथन जसरी आम शिक्षकहरु साझा सवालमा एकजुट हुनु ज्यादै सकारात्मक पक्ष हो ।
यसपालि २०८१ चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन औपचारिक घोषणा भयो । आफ्नो विद्यालयको वार्षिक परीक्षा तथा मूल्याङ्कनका कामहरु सक्दो चाँडो गरी सकेर राजधानी बाहिरका शिक्षकहरुले काठमाडौं जानु प-यो ।
अझ महत्वपूर्ण पक्ष आन्दोलन अवधिमा अवरुद्ध भएको विद्यार्थीहरुको पठनपाठन पछि विद्यालय खुले पश्चात बिदाहरु कटाएर पठनपाठन सोधभर्ना गर्ने घोषणा गरिसकेका छन् । यी दृष्टान्तहरुले शिक्षकहरुको आन्दोलन रहर नभएर वाध्यता भएको र शिक्षकहरु आफ्नो काम कर्तव्य र जिम्मेवारीप्रति सचेत एवम् सजग रहेको ठहर गर्दछ ।
कतिपयले अतिरिक्त समय लगाएर विद्यालयका आन्तरिक कामहरु सकाए । तलब भत्ता पाउन बाँकी रहेका शिक्षकहरुले सरसापटी लिएरै नाइट गाडी, डे गाडी, कोही हवाइजहाजको यात्रा गरी आन्दोलनको निर्धारित मिति, समय र स्थानमा पुगे । कतिपयले आन्दोलनमा आलोपालो गर्दै पनि शैक्षिक वर्ष २०८१ भित्र शिक्षकद्वारा सम्पादन गर्नुपर्ने कामहरु गरिसके । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको वार्षिक नतिजा प्रकाशन गर्न ठिक्क पारिएका छन् । तर कतै प्रकाशन भने गरिएका छैनन् । आन्दोलनका कारण कतिपय विद्यालयहरुले शैक्षिक वर्ष २०८२ को निम्ति नयाँ कार्ययोजना छलफल गरी तय गर्न भने पाएनन् ।
शिक्षकहरु नयाँ वर्ष २०८२ बैशाख १ गते पनि आन्दोलनका निम्ति सडकमै थिए । सडकमै नयाँ वर्षको शुभकामना आदान–प्रदान गरे । नेपालमा नयाँ वर्षसँगै नयाँ शैक्षिक सत्र शुरुवात हुन्छ । शिक्षकहरुले आ–आफ्ना विद्यालयको निम्ति सडकमै नयाँ वार्षिक कार्यतालिका पनि बनाए । आन्दोलनको दौरानमै सम्भव हुने जति कामहरु सडकमै सम्पादन गरीरहेकै छन् । अझ महत्वपूर्ण पक्ष आन्दोलन अवधिमा अवरुद्ध भएको विद्यार्थीहरुको पठनपाठन पछि विद्यालय खुले पश्चात बिदाहरु कटाएर पठनपाठन सोधभर्ना गर्ने घोषणा गरिसकेका छन् । यी दृष्टान्तहरुले शिक्षकहरुको आन्दोलन रहर नभएर वाध्यता भएको र शिक्षकहरु आफ्नो काम कर्तव्य र जिम्मेवारीप्रति सचेत एवम् सजग रहेको ठहर गर्दछ ।
यसपालिको शिक्षक आन्दोलनमा शिक्षकहरुले देखाएको अभिरुची, धैर्यता, अनुशासन, शिष्टता अनि लगनशिलता उल्लेखनीय रहेको छ । शिक्षक आन्दोलन तीन हप्ता पूरा हुने दौरानमा पुग्दासम्म पनि सहभागिता झन–झन बढ्दो क्रममा रहेको देखिन्छ । आन्दोलन संयमित एवम मर्यादित चलिरहेको छ । न कुनै अप्रिय घट्ना भएको छ, न त कुनै तोडफोड विध्वंस नै भएका छन् । विगतका आन्दोलनहरुबाट पाठ सिक्दै यसपालि शिक्षकहरुले सडकपेटीमा रहेको दुबोलाई समेत पटक्कै टेकेनन् । आफूले पिएका पानीका बोटललगायतका उत्सर्जित फोहोरमैलाहरु आफैले व्यवस्थापन गरी सडकमा फोहोर छाडेनन् । यति मात्र कहाँ हो र ?
बुँदागत आफ्नो माग राखे तर अनावश्यक उत्तेजित भद्ध नाराबाजी गरेनन्
शिक्षक महासंघ जिन्दावाद भने तर कसैप्रति मुर्दावाद भनेनन्
सडक भरिने शिक्षक जनसागर आए तर, सडक आसपासको इँटा ढुङ्गा उप्काएनन्
सुरक्षाकर्मीहरुसँग साक्षात्कार भए तर कतै–कसैप्रति लक्षित ढुङ्गामुढा आगजानी गरेनन्
सडकमा इमानदारीपूर्वक हिँडे तर पेटीको रेलिङ हल्लाएर भाँचेनन्
आफ्ना सिर्जनशील कला प्रतिभा प्रदर्शन गरे तर उच्छृङखलता देखाएनन्
वौद्धिकता र शालिनता देखाए तर अराजकता देखाएनन्
समूहगत सौहर्दतापूर्ण भेला भए तर अनियन्त्रित, अस्तव्यस्त भएनन्
शान्तिपूर्ण प्रदर्शन गरिरहे तर आक्रोश, आवेग प्रकट गरेनन्
यस प्रकार यसपालीको शिक्षक आन्दोलन वास्तवमा एक अनुकरणीय आन्दोलन साबित भएको छ । शान्तिपूर्ण सौहर्दतापूर्ण वातावरणमा गरिएको आन्दोलनमा पनि शक्ति र सामथ्र्य हुन्छ भन्ने सकारात्मक सन्देश छर्न सफलीभूत उन्मुख छ । समाजमा वौद्धिक अनि सचेत वर्ग मानिएका शिक्षकहरुले यसपालीको आन्दोलनमार्फत साँच्चीकै आफ्नो असली पहिचान देखाउन सफल भएका छन् । सबै पक्षको साथ समर्थन पाएको छ । सरकारले वार्तामा बोलाएको छ । सरकार प्रमुख स्वयं प्रधानमन्त्रीसँग समेत छलफल भइसकेको छ । सामाजिक सञ्जालदेखि सबैखाले मिडियाहरुमा शिक्षक आन्दोलनले प्राथकिताका साथ स्थान पाएको छ । अनि सबैभन्दा महत्वपूर्ण सबै पक्षको समान धारणा मिल्दोजुल्दो छ, ‘शिक्षकहरुको जायज मागहरु पूरा गर्नै पर्दछ..... ।’ यद्दपी आन्दोलनरत शिक्षकहरु हाताहातीको कारोबार गर्ने भन्ने ध्याउन्नमा छन् । अन्तिम माग नयाँ शिक्षा ऐन जारी गरेर मात्र फर्किने.... भन्ने छ । आशा, अपेक्षा मात्र हैन विश्वस्त होऔं यसपालि अवश्य नयाँ ऐन जारी हुने नै छ र शिक्षक आन्दोलनले उठान गरेका जायज मागहरु पनि सम्बोधन भएर आउने छन् ।
विगतमा आन्दोलन भनेपछि हाम्रो मनसपटलमा बेग्लै छाप बसेको छ । आन्दोलनहरुमा हामीले देखे, भोगे, सुनेको कुराहरु नै अलिक शर्मिदा नै छन् । जहाँ अराजक नाराबाजी, ढुङ्गामुढा, पेलापेल–ठेलाठेल अनि अन्तिममा तानातान र हानाहान अवश्य हुन्थे । अनि आन्दोलनमा कोही न कोही घाइते कहिलेकाही मृत्यु नै हुनेसम्मको हदमा पुग्दथ्यो । सामान्य घाइते, लुगाकपडा च्यातिने, जुत्ता चप्पल, सामान हराउने त आन्दोलनमा सहभागीको पहिचान नै सावित भइसकेको कुरा न हुन् । शान्ति सुरक्षाको निम्ति तैनाथ सुरक्षाकर्मीहरुले पनि अनाहकमा गाली, ढुङ्गा, इँटाको प्रहार सहँदै धरपकड गर्नुपर्ने, लाठी बर्साउनु पर्ने, अश्रुग्यास हान्नु पर्ने आदि कार्यहरु त आन्दोलनको दौरानमा सामान्य बनिसकेको अवस्था हो । अनि अन्तिममा भन्ने प्रचलन छ, ‘भिजीलान्ते प्रवेश गरेर बिथोलियो..... ।’
शान्तिपूर्ण आन्दोलन भनेको शिक्षकहरुले मात्र गर्दछन् भन्ने मानक स्थापित हुने अवस्था छ । आम नेपाली शिक्षकहरुले यो पनि एक गौरव गर्न लायक पक्ष हो ।
शिक्षक आन्दोलनहरु मात्र यस्तो आन्दोलन सावित हुँदै आएका छन् । जुन नारामा भनिए जसरी नै शान्तिपूर्ण आन्दोलन हुन् । हुन त हरेक आन्दोलनका आयोजक जोसुकैले पनि आफ्नो आन्दोलन शान्पिूर्ण आन्दोलन नै भन्ने दाबी गरेता पनि फिल्डमा कार्यान्वयन भएको खासै पाइन्न । झडप र हुलदंगा भएकै हुन्छ । सुरक्षाकर्मीले बल प्रयोग गर्नपर्ने परिस्थिति प्राय सिर्जना हुने नै गर्दछ ।
तथापी, शिक्षक आन्दोलन यथार्थमै शान्तिपूर्ण भइरहेको छ । अनुकरणीय भइरहेको छ । अबको खाँचो यसै गरी शान्तिपूर्ण रुपमा लक्ष्य, उद्देश्य हासिल गरी आन्दोलन सम्पन्न गराउनु हो । शान्तिपूर्ण आन्दोलन भनेको शिक्षकहरुले मात्र गर्दछन् भन्ने मानक स्थापित हुने अवस्था छ । आम नेपाली शिक्षकहरुले यो पनि एक गौरव गर्न लायक पक्ष हो ।