सशस्त्रको एआइजी बन्न तीन जना प्रतिस्पर्धामा
काठमाडौं । सशस्त्र प्रहरीको एआइजी बन्नका लागि अहिले दौडधूप सुरु भएको छ । सशस्त्र प्रहरी नियमावली नै संशोधन गर्न लागिपरेका सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रकाश गौतम (सीपी गौतम) आज (आइतबार) बाट अनिवार्य अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका हुन् । गृहमन्त्री रमेश लेखकले कुनै एक व्यक्तिका लागि नियमावली परिवर्तन नहुने अडान लिएपछि उनी घर जान बाध्य भएका हुन् ।
उनको अवकाशसँगै सशस्त्र प्रहरीमा एक एआइजी रिक्त हुन लागेको हो । गौतम अवकासमा गएसँगै तीन डिआइजीको बढुवा प्रतिस्पर्धा सुरु भएको छ । अहिले एआइजी बन्न डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङबीच प्रतिस्पर्धा चलेको छ । गत पुसमा मात्रै म्याद थप भएका तीन डिआइजी आफूहरु एआइजीको दावेदार रहेको बताइरहेका छन् । सशस्त्र प्रहरीमा चार जना डिआइजी (प्रहरी नायब महानिरीक्षक) हरू जागिरको अवधि २५ वर्ष पूरा नहुँदै अवकाशको मुखमा पुगेका उनीहरूको म्याद थप भएपछि एआइजीको दावेदार बनेका हुन् ।
सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सरकारले एक वर्ष पदावधि थप गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान अनुसार म्याद थप भएको थियो । प्रहरी कितावखानाले उनलाई एक महिना अघि नै अवकाशको जानकारी दिइसकेको थियो । उनी मंगलबारबाट सशस्त्रबाट अनिवार्य अवकाशमा जाने भएपछि एक महिना अघि नै अवकाशको पत्र दिएको हो । नेपाली सेनाबाट सशस्त्रमा आएका र माथिल्लो दर्जामा रहेका एक मात्र गौतम अवकाशमा गएपछि अब तल्लो दर्जामा ६ जना बाँकी छन् ।
यसपछि २०५६ असार ३ गते नेपाल प्रहरीमा भर्ना भएका टोलीमध्येबाट एआइजी हुनेछन् । डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए । डिआइजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन् । रोगले थलिएका सुवेदी अहिले पूर्व क्षेत्रको कमाण्डमा छन् । सशस्त्र प्रहरी बल स्थापना भएपछि चारै जना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । मुलुक द्वन्द्वकालमा हुँदा उनीहरूकै टोलीले विभिन्न परिस्थितिको सामना गरेको थियो । डिआइजी गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशका प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशका प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोसी प्रदेशका प्रमुख छन् ।