२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड


२०८१ चैत ८ शुक्रबार १६:३६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री हुने खेलमा नलागेको बताएका छन् ।  उनले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको पनि आरोप लगाएका छन् । यद्यपि, यसै कार्यकालमा आफू पुनः प्रधानमन्त्री नबन्ने पनि उनले बताए ।

आज (शुक्रबार) वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । उनले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै यो सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नु हुन्छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनु पर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ। उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ ।’

उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे । उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने बताए । सरकारमा हुँदा भ्रष्टाचार विरुद्धको आन्दोलन छेडेको बताए । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताए । तीन पटक यो देशको प्रधानमन्त्रीको रथ हाँकिसकेका उनले आफूलाई भ्रष्टाचारीहरुले सरकारले हटाएको समेत बताए । नियमित अवस्थामा आगामी संसदीय निर्वाचन २०८४ मा हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७