राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनु पर्ने माधव नेपालको चेतावनी
‘सरकार आफैं ढल्यो ढल्यो भन्दै हिँडिरहेको छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई चुस्ने र बर्बाद गर्ने राजतन्त्र नेपालमा फर्किने कल्पना पनि नगरेको बताएका छन् ।
समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको सभामा बोल्दै नेपालले नेपालमा वंश र परिवारको शासन अब स्वीकार्ने अवस्था नभएको बताएका हुन् । ‘यो कास्टिङ मात्रै हो । यो मुलुकमा वंश र परिवारको शासनमा फर्किदैन । जनताले कसैको दासत्व स्वीकार्दैनन्,’ नेपालले भने, ‘जनतालाई चुस्ने, बर्बाद पारेको सम्झिँदा पनि राजतन्त्र फर्किने कल्पना गर्न सकिँदैन । यो देशमा वंशको शासन गर्ने कुचेष्टा कसैले नगर्दा हुन्छ । ढलेको राजतन्त्र आउन सम्भव छैन ।अराजकतावादको हल्ला सुनेका छौं । कोही मच्चिनुपर्दैन । देशलाई अगाडि लाने हो ।’ तर नागरिकको अपेक्षालाई पूरा गर्न तत्पर हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष नेपालले कांग्रेस एमाले गठबन्धन सरकार आफैं ’ढल्यो ढल्यो...’ भन्ने गीत गाइरहेको बताएका छन् । उनले सरकार जनताको काम गर्नबाट बिमुख भएको बताए । ‘सरकार जनताको समस्यामा तमासे भएर बसेको छ । जनताका समस्यासँग चासो छैन,’ उनले भने, ‘सरकारलाई गीत गाउन समस्या छन् । सरकार ढले ढले भन्दैछ । हामीले सरकार ढालिरहेका छैनौं । सरकारको वुद्धि सप्रियोस् ।’
उनले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको आरोप लगाए । ‘प्रचण्ड सोझो मान्छे । स्वर्गमा लाने भनेर राति नर्कतिर धकेलेछन्,’ उनले भने, उनले भने, ‘मलाई पनि फकाउन आएका थिए । हामी पनि एकक्षण भ्रममा पर्यौं । उनको सोच, चिन्तन कस्तो छ । देश बनाउने हुटहुटी छ कि छैन ? हामीले पाइरहेका छैनौं । सरकार भ्रष्टाचारतिर ध्यान छ । जनताको पीडाले पोल्दैन ।’