सरकारले हाम्रा होइन, राम्रा मान्छे नियुक्त गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने गरेको दाबी गरेका छन् । प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा रास्वपा सांसदले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
अहिलेको सरकारले हाम्रो मान्छे नभई राम्रो मान्छेलाई उपयुक्त ठाउँमा राखेको उनले बताए । रास्वपा सांसदले सोधेको ‘आफैंले नियुक्त गरेका कारण सरकार असफल भएको हो ?’ भन्ने प्रश्नको जवाफमा ओलीले सरकारले योग्य मान्छेलाई उपयुक्त ठाउँमा नियुक्ति गर्ने गरेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘माननीय ज्यूले प्रश्न भन्दा व्याख्या राख्नु भयो । कर्मचारी मैले नियुक्त गरेको होइन । अहिलेको सरकारले हाम्रो मान्छे होइन राम्रो मान्छे खोजी गर्छ र योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ । कुनै प्रकारको भेदभाव होइन, गुण दोषका आधारमा मूल्यांकन र मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने गरेको छ ।’ सरकारी नियुक्तिमा नातावाद भयो भन्ने प्रश्न अस्वीकार गर्ने ओलीले बताए।
यसअघि भएका गलत अभ्यास तोडेर सरकारले मेरिट बेसमा काम गरेको दाबी गर्दै नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति एउटा उदाहरण भएको बताए । वर्तमान सरकार आएपछि बुटवल–नारायणगढ सडक र मुग्लिन–पोखरा सडकको कामले गति लिएको ओलीको दाबी छ ।