अवैध नेपाली आप्रवासीहरु बोकेर काठमाडौंका लागि उड्यो अमेरिकी चार्टर्ड विमान

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्काशित नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौंका लागि उडेको छ । अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौँ आउन लागेको हो ।
अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।
यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए । तीमध्ये तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो, तर उनीहरूलाई पानामा पुर्याउनुको कारण खुल्न सकेको छैन । प्राधिकरण स्रोतका अनुसार यसअघि पनि गत मंसिर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले चार्टर विमानमार्फत अवैध बसोबासी १५ नेपालीलाई पठाएको थियो ।
आज काठमाडौँ आउने चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ । अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।