व्यास नगरपालिकाका चार कर्मचारी निलम्बित

तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार कर्मचारी निलम्बित भएका छन् । आज (बुधबार) बसेको नगरपालिकाको नियमित बैठकले आलेप अधिकृत कुमारकञ्चन जीसी, सरसफाइ शाखा अधिकृत कृष्णराज घिमिरेसहित चार कर्मचारीलाई निलम्बित गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा उनीहरु निलम्बनमा परेका छन् । सरसफाइ केन्द्रको जग्गा खरिदसँग सम्बन्धित रहेर प्रमुख प्रशासकीय अधिकृतबाट ७ दिने स्पष्टीकरण सोधिएकामा बुधबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
ती कर्मचारीहरूलाई छानबिन प्रक्रिया नटुङ्गिदासम्म निलम्बन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन र छानबिनका लागि स्पष्टीकरण सोधिएका कर्मचारीलाई दिएको अतिरिक्त थप सुविधा हाललाई कटौती गरी कार्यपालिकाबाट तोकिएका सबै समिति, उपसमितिको जिम्मेवारीबाट हटाउने निर्णय भएको नगर प्रमुख न्यौपानेले बताएका छन् ।
फोहोर व्यवस्थापनका लागि व्यास–१३ मा खरिद गर्न लागिएको जग्गामा नगरपालिकाकै कर्मचारीले चलखेल गरेको खुलासा भएसँगै ती कर्मचारीलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण माग गरिएका कर्मचारीहरूको प्राप्त स्पष्टीकरण फागुन २६ गते बिहान ८ बजे हुने बैठकमा पेस गर्ने निर्णय भएको छ ।