यौन प्रस्ताव अस्वीकार गर्दा संगीताको हत्या, नौं दिनपछि आरोपी पक्राउ

रुपन्देही । रुपन्देहीमा महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई नौं दिनपछि पक्राउ गरेको छ । गत फागुन ८ मा सियारी–१ अन्तर्गत बेथरी बेलबास करिडोरको पूर्वतर्फ गहुँखेतमा महिलाको शव फेला परेको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका–१२ का ४२ वर्षीय अमिरिका थारु (अजय थारु) पक्राउ परेको रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए । फेला परेको शव दाङ लमही नगरपालिका–७ उच्चलिम्बु बस्ने ४० वर्षीया संगीता चौधरीको रहेको खुलेको उनले जानकारी दिए ।
उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरी हत्या गरी सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले शव फेला परेपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो । सोही क्रममा थारूलाई गत १६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै जना सँगसँगै ज्याला मजदुरीको काम गर्थे ।
कामबाट फर्केर मादक पदार्थ सेवन गरी झगडा गर्ने क्रममा अजयले ढुंगाले हानेर संगीताको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्कीले बताए । घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगीतालाई यौन प्रस्ताव राखेका थिए । अनुसन्धानमा यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका दुई थान ढुंगा, मृतकले प्रयोग गर्ने मोवाईल, कालो टोपी, चप्पल लगायत बरामद गरेको थियो । त्यस्तै, पक्राउ परेका अमिरिकाको साथबाट वारदातको समयमा लगाएको कालो जिन्स पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ । पक्राउ परेका अजयबाट हत्या अभियोग खुल्ने प्रमाण फेला परेको र सोही प्रमाणका आधारमा अनुसन्धान भइरहेको उनको भनाइ छ । अजयलाई जिल्ला अदालतबाट ८ दिन म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।