तालिवानले ट्रम्पलाई भन्यो–हिम्मत छ भने काबुल आऊ

काबुल । अफगानिस्तानको तालिबान सरकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई हिम्मत भए काबुल आएर हतियार लैजान चुनौती दिएको छ । उसले अमेरिकाको हतियार फिर्ता नगर्ने स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले छोडेका हतियार फिर्ता ल्याउने कुरा गरेपछि तालिबानले उक्त प्रतिक्रिया दिएको हो । सन् २०२१ मा तालिबान काबुलतर्फ अघि बढेपछि अमेरिकी सेनाले अफगानिस्तान छोडेर हिँडेको थियो । यो अवधिमा अफगानिस्तानमा ठूलो संख्यामा अमेरिकी हतियार छुटे । ट्रम्पले यसै वर्ष जनवरीमा अमेरिकामा फेरि सत्ता सम्हालेपछि यी हतियार फिर्ता गर्ने कुरा गरेका छन् । ट्रम्पको यस्तो मागका कारण तालिबान आक्रोशित छन् ।
अफगानिस्तानका मिडियाका अनुसार सेना प्रमुख कारी फसिहुद्दिन फितरतले ट्रम्पलाई जवाफ दिँदै भने, ‘यदि तिमीसँग हिम्मत छ भने अफगानिस्तान आएर आफ्नो हतियार फिर्ता लैजाऊ ।’ यसअघि अफगान सरकारका प्रवक्ता जबिहुल्ला मुजाहिदले पनि ट्रम्पलाई यस्तै चुनौती दिएका थिए । मुजाहिदले यी हतियार अब अफगानिस्तानको भएको बताएका थिए । तालिबानले युद्ध जितेकाले ती हतियार अफगानिस्तानका भएको स्पष्ट पार्दै अमेरिकालाई फिर्ता नगर्ने जानकारी दिएका छन् ।
अमेरिकी रक्षा विभागको प्रतिवेदनअनुसार अमेरिकी सेना फिर्ता हुँदा करिब ७ अर्ब अमेरिकी डलर बराबरको सैन्य उपकरण अफगानिस्तानमा छुटेको थियो । सन् २००५ देखि अगस्ट २०२१ सम्म अमेरिकाले अफगान राष्ट्रिय रक्षा र सुरक्षाबललाई १८ अर्ब ६० करोड डलर बराबरको उपकरण उपलब्ध गराएको थियो ।
अमेरिकी सेनाले अगस्ट २०२१ मा अफगानिस्तान छोड्यो । यो अवधिमा अमेरिका समर्थित अफगान सेनाले केही हेलिकप्टर छिमेकी मुलुकमा अवतरण गरे पनि ठूलो संख्यामा हतियार अफगानिस्तानमै रह्यो । अमेरिकी राष्ट्रपति र तालिबानबीच हतियारको विवाद अमेरिका र अफगानिस्तानबीच भएको दोहा सम्झौताको पाँचौं वार्षिकी अघि आएको हो । यो सम्झौता फेब्रुअरी २९, २०२० मा हस्ताक्षर भएको थियो । यो सम्झौताअनुसार अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको थियो । अहिले अफगानिस्तानमा छाडिएको अमेरिकी सैन्य उपकरणको विवाद दुवै पक्षमा चर्किरहेको छ।
ट्रम्पले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको सबैभन्दा ठूलो हवाई अड्डा बगरामबारे पनि बयान दिएका छन् । ट्रम्पले बगराम हवाइ अखडा चीनको कब्जामा रहेको र त्यसलाई फेरि आफ्नो नियन्त्रणमा लिने बताएका छन् । यो हवाई अड्डा रणनीतिक रूपमा निकै महत्वपूर्ण छ । यस्तो अवस्थामा बगराम हवाइ अखडा पनि यो तालिबान र अमेरिकाबीचको तनावको मुद्दा पनि बन्न सक्छ । एजेन्सी