नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी मिलेर लुटे क्रिप्टो कारोबारीको १४ लाख

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारी नै मिलेर क्रिप्टो करेन्सीका कारोबारीलाई लुटेको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारीलाई लुट्ने प्रहरीका दुई र सशस्त्र प्रहरीका दुईसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले क्रिप्टो कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी हवल्दार राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन् । त्यस्तै मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ, मोरङका मनिषकुमार राय र क्रिप्टो कारोबारी धादिङ रोशन गुरुङ पक्राउ परेका छन् । प्रहरीले लुटपाटमा संलग्नहरूबाट १२ लाख १० हजार, ६ थान मोबाइल र एमजी गाडी बरामद गरेको छ । त्यस्तै क्रिप्टो कारोबारीबाट साढे दुई लाख नगद, मोइबाल २ थान र ल्यापटप एक थान बरामद गरेको छ ।
क्रिप्टो कारोबारीको गोप्य सूचनाको आधारमा प्रहरीले टोखा ग्रिनल्याण्ड बस्ने गुरुङलाई पक्राउ गरी सोधपुछ गर्दा आफूहरूलाई प्रहरी बताउने ६ जनाले १४ लाख नगद लुटेर लगेको बताएका थिए । उनीहरू हतकडीसहित आएको गुरुङले प्रहरीलाई बयान दिएका थिए । पक्राउ परेका सात जनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक अपील राज बोहोराले जानकारी दिएका छन् । गुरुङले एक करोड ८७ लाख ७ हजार बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ ।