दूधकोशी आयोजनाका प्रमुख गुरुङलाई हटाउन उर्जामन्त्री खड्काको ‘ठाडो’ आदेश

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले दूधकोशी जलविद्युत आयोजना प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन ठाडो आदेशसहित पठाएका छन् । ऊर्जामन्त्री खड्काविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै आयोजनाका प्रमुख गुरुङलाई तत्काल हटाउन मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणलाई ठाडो आदेशसहित पत्र पठाएको पाइएको हो ।
मन्त्रालयले दूधकोशी आयोजनाका प्रमुख विमल गुरुङले सामाजिक सञ्जालमा मन्त्री खड्काको कार्यशैलीको विरोध गरेका थिए । मन्त्रालयले प्राधिकरणलाई पत्र पठाउँदै तत्काल हटाउन दबाब दिएको छ । मन्त्रालयले फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरी गुरुङलाई हटाउन भनेको छ ।
मन्त्रालयले पठाएको पत्रमा भनिएको छ– ‘तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोशी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्री ज्यूकाबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकामा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनु हुन मिति २०८१÷११÷८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ ।’