अब पार्टीभित्र अन्याय हुन दिन्न : शेखर कोइराला

बाँके । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता–कार्यकर्तामाथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् । कांग्रेसको राप्तीसोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा. कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन् ।
‘ढुक्क भएर संगठन निर्माण गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्,’ उनले भने । सबै तहका कांग्रेस कार्यकर्तालाई पार्टीको विधानअनुसार अघि बढ्न पनि उनले निर्देशन दिए । व्यक्ति नभई संस्था बलियो बनाउनुपर्ने भन्दै उनले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताए । निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता कोइराला शनिबार नेपालगन्जमा आइपुगेका हुन् ।