एमालेमा आउनेलाई स्वागत छ, बाम एकता हुँदैन : ईश्वर पोखरेल 

‘नो करप्टेड र नो फ्रस्टेटेड मानिस मात्र एमाले हुन्छन्’


२०८१ फाल्गुण ११ आइतबार ००:२२ बजे

चितवन । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेले देशमा ठूला–ठूला परिवर्तन गरेका बताएका छन् । प्रेस चौतारी नेपाल वागमती प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उदघाटन कार्यक्रमलाई आइतबार चितवनमा सम्बोधन गर्दै पोखरेलले २०४६ सालको आन्दोलन वा गणतन्त्र घोषणा गराउने कुरा कांग्रेस र एमालेको सहकार्यले सम्भव भएको बताए । ‘नेपालको विशिष्टतामा परिवर्तन र सहकार्यलाई बुझ्नु पर्दछ’, उनले भने । 

नेपालको राजनीतिमा दुईवटा पोल भएको बताउँदै पोखरेलेले एउटा पोलको नेतृत्व एमाले र अर्को पोलको नेतृत्व कांग्रेसले गर्ने बताए । त्यसैले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएको उनले स्पष्ट पारे । ‘हामी स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्छौ, कोहीसँग मिलेर होइन एक्लाए एक्लै प्रतिस्पर्धा गर्छौ’, उनले भने । 

नेपालमा वामपन्थी नामका दक्षिणपन्थीहरू रहेकाले त्यस्ता शक्तिसँग एमालेले पार्टी एकता गर्न नसक्ने पोखरेलले स्पष्ट पारे । एमाले पार्टीमा आउनेलाई स्वगत गर्ने भए पनि एमाले कोहीसँग मिल्न नजाने पोखरेलले बताए । ‘एमालेमा आउन चाहनेलाई स्वागत गर्दछौं, वामपन्थी एकता भने सम्भव छैन’, उनले भने । 

आफूलाई कम्युनिष्ट भन्नेहरू नै एमालेलाई कमजोर बनाउन लागेको उनले बताए । एमालेलाई कमजोर बनाउनु भनेको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रालाई कमजोर बनाउनु भएको उनले बताएका छन् । त्यसैले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । नेकपा एमालेले बहुमत नल्याउने हो भने देश उँभो नलाग्ने पोखरेलले दाबी गरे ।

यसलाई बुझेर एमालेलाई बलियो बनाउनु पर्ने र पार्टीलाई सुदृढ बनाउन जरा केन्द्रित अभियान सुरु गरिएको पोखरेलले स्पष्ट पारे । विगतको समीक्षा गर्दै आगामी योजना बनाएर एमालेका सबै जनसंगठन अघि बढ्नु पर्ने पोखरेलको धारणा छ । 

एमालेमाथि लगाइएका कुनै पनि आरोपमा सत्यता नरहेको उनले दाबी गरे । विगत र भविष्य नभएकाहरू एमालेका विरुद्ध लागेका उनले बताए । भ्रष्ट मनोवृत्ति भएका र जहाँसुकै गुनासो गर्ने मानिसहरू एमाले हुन नसक्ने पोखरेलले बताए । एमालेमा कुनै गुट र उपगुट पनि नभएको बताउँदै उनले भने, ‘नो करप्टेड र नो फ्रस्टेटेड मानिस मात्र एमाले हुन्छन् ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७