प्यूठानमा दम्पती हत्या प्रकरण : भतिजा पक्राउ

प्युठान । प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृत्तकका भतिजालाई पक्राउ गरेको छ । माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका थिए । उनीहरूको हत्या आरोपमा प्रहरीले भतिजा नाता पर्ने ३४ वर्षीय पंकज नेपालीलाई पक्राउ गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए ।
पंकजको घर मृतकको घरबाट ६० मिटर टाढा मात्रै रहेको प्रहरीले जानकारी दिएको छ । उनले हत्या पनि स्वीकारेको पनि बस्यालले बताएका छन् । ‘सँधै गाली गर्ने, रिसाउने, घर पनि नआइज भन्ने जस्ता कुरा गर्ने गरेकाले रिसमा आएर घनले हिर्काएर हत्या गरेको हुँ भनेर प्रारम्भिक बयान दिएका छन्,’ डिएसपी बस्यालले भने । प्रहरीले हत्यामा प्रयोग भएको घन मृत्तकको घरदेखि ५० मिटर पूर्वमा रगत लतपतिएको अवस्थामा फेला पारेको छ ।
शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए। ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए । उनीहरूलाई मृत देखेपछि प्रहरीमा खबर गरिएको थियो । डिएसपी बस्यालले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरू देखिएको जानकारी दिएका छन् । डिएसपी बस्यालका अनुसार त्यो घरमा बुढाबुढी मात्रै थिए । उनीहरुका चार छोरा भारतमा बस्छन् । दुई छोरी बिवाह भई दाङ बस्छन् ।