शक्ति राष्ट्रहरूको नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं : नेपाली सेना
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब

काठमाडौं । नेपाली सेनाले शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेको जनाएको छ । पृतनापति समन्वयात्मक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले सो कुरा बताएका हुन् ।
नेपाली सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, शक्ति राष्ट्रले लिइरहेका नयाँ नीतिको नेपाल प्रभावलाई सुक्ष्म रुपमा हेरिरहेको जनाएको छ । विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भन्दै त्यसलाई सेनाले नियालिरहेको जंगीअड्डाले जनाएको छ ।
युद्धकार्य विभागका महानिर्देशक अधिकारीले भने, ‘विभिन्न शक्ति राष्ट्रले लिएका नीति र क्षेत्रीय रुपमा विकसित परिस्थिति, राजनीतिकदेखि आर्थिक गतिविधिले कत्तिको प्रभावित हुन्छौं भन्ने कुरा धेरै अनुमान लगाउन सकिन्छ । नेपाली सेना र सैनिक नेतृत्व बदलिँदो परिस्थितिमा कम्प्रिहेन्सिभ स्ट्याटिजी फ्रेमवर्कमा पर्ने सम्पूर्ण सुरक्षा सरोकारका विषयहरुलाई कसरी सम्बोधन गर्ने भन्नमा चिन्तन मनन् भइरहेकै अवस्था हो ।’
बदलिएको परिस्थितिमा नेपालको क्षमता र स्रोत, साधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि रणनीति तयार पार्ने काम भइरहेको उपरथी अधिकारीले बताए । पछिल्लो समय अमेरिका र युक्रेनबीच देखापरेको उतार–चढावले नयाँ प्रकारका सुरक्षा चुनौतीहरू सिर्जना हुनसक्ने सेनाको निष्कर्ष छ ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको छ । आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रकम पुगेको जानकारी दिएको हो । जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख नगद मौज्दात रहेको जनाएको छ ।
त्यसबाहेक विभिन्न परियोजनाहरूमा सेनाले ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेको पनि जनाएको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ । निक्षेपको प्रतिशतमा गिरावट आएकाले सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्य र सार्वजनिक दायित्वहरू प्रभावित पर्ने पनि सेनाले जनाएको छ । सेनाले कल्याणकारी कोष २०३२ सालमा सुरू गरेको थियो । त्यतिबेला एक करोड २४ लाख रुपैयाँबाट सुरू गरेको थियो ।
प्रकृति संरक्षणमा नौं हजार बढी सेना परिचालन
नेपाली सेनाले प्रकृति संरक्षणमा आफ्ना ९ हजारभन्दा बढी फौज परिचालन भएको जनाएको छ । नेपाली सेनाले आइतबार सैनिक मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । सेनाका अनुसार, हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्षका साथसाथै चुरै क्षेत्र संरक्षणका लागि उक्त संख्यामा फौज परिचालन भएका हुन् । नेपाली सेनाका आठवटा वण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्म गरी ९ हजार ४६ जना फौज प्रकृति संरक्षणमा खटिएको जनाइएको छ ।
प्रकृति संरक्षणमा सेना संलग्न भएपछि सन् २००९ मा १२१ को संख्यामा रहेका बाघ हाल ३५५ भन्दा बढी र सन् २००५ मा ४ सयको संख्यामा रहेको लोपोन्मुख एक सिङ्गे गैँडा ७५२ भन्दा बढी भएको सेनाको दाबी छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति तथा नेपाली सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म १६ लाख १८ हजारभन्दा बढी बोटविरुवा वृक्षारोपण गरी जंगल वृद्धि गरिएको पनि सेनाले जनाएको छ । यस्तै, २०७६ सालबाट सुरु गरिएको ‘सफा हिमाल अभियान’ अन्तर्गत सरोकारवाला निकायहरूको समन्वयमा हालसम्म ११९ टन फोहोर, १२ वटा मानव शव र चारवटा मानव अस्थिपञ्जर संकलन गरी व्यवस्थापन गरिएको सेनाले बताएको छ ।