राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह : सुशासन र समृद्धिको यात्रामा साथ दिनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीको ७४ औं जन्मदिनका अवसरमा उनलाई शुभकामना आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताएका हुन् ।
‘सेवा प्रवाहका कुराहरुमा सेवाग्राहीलाई सकारात्मक भावका साथ काम गरेर विकास निर्माण र सुशासन कायम गर्ने काममा मलाई मद्दत गरेर शुभकामनालाई सार्थक बनाउन व्यवहारिकरुपमा पनि त्यसअनुसारको काम गर्न म आग्रह गर्छु ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भ्रष्टाचार गर्दैनौं र गर्न दिन्नौं तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनुछ । मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौं । विकास निर्माणका लागि ठेक्का लगाउँछौं । यसमा सबैका साथ होस् भन्ने मेरो चाहना हो ।’
सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपालका सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो । यसैबीच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा सहभागी भएका थिए ।