कोटीहोमलाई अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
पोखरा । फेवा किनार नेपाल ट्रष्टको जग्गामा आउँदो बैसाखमा हुने भनिएको कोटीहोम महायज्ञ नरोक्न पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ सञ्चालनमा कानून बमोजिम बाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु / नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
विवादित धर्मगुरु विजय कृष्णमूर्तिले आगामी वैशाखमा तीन महिनासम्म पोखरामा ‘कोटीहोम विराट ज्ञान महायज्ञ’ आयोजना गर्ने विषय अदालत पुगेको थियो । ‘कोटीहोम विराट ज्ञान महायज्ञ’ गर्नका लागि नेपाल ट्रष्टको कार्यालयबाट जग्गा प्रयोगको अनुमति लिइसकिएको छ । कोटीहोमका लागि भन्दै पोखरामा वरपीपल रूखहरू काटेपछि फाउण्डेसन विवादमा तानिएको थियो । महानगरले फेवाताल छेउमा कोटीहोम गर्न उपयुक्त नहुने बताउँदै आएको छ । महानगर प्रमुख धनराज आचार्यले पर्यटकीय गतिविधि हुने स्थानमा लामो समयसम्म महायज्ञ गर्न उपयुक्त नहुने बताउँदै आएका छन् । महानगरले आफ्नो अनुमति बिना कुनै पनि गतिविधि नगर्न पत्राचार गरेको थियो ।
त्यसपछि फाउण्डेसनले महानगरलाई विपक्षी बनाउँदै उच्च अदालतमा निवेदन दिएको थियो । जसको पहिलो सुनुवाइ बिहीबार भएको हो । ‘कोटीहीम विराट ज्ञान महायज्ञ सञ्चालन गर्दा कुनै किसिमको हानी नोक्सानी नपुग्ने र त्यस्तो हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति व्यहोर्न निवेदक तयार रहेको भन्ने प्रतिवद्वता समेत निवेदकका तर्फबाट बहस गर्नु हुने वरिष्ठ अधिवक्तामार्फत् इजलासमा अभिव्यक्त भएको समेतका आधारमा सुविधा सन्तुलनको सिद्वान्त समेतका दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ सञ्चालनमा कानून बमोजिम बाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा भनिएको छ ।
.jpg)
.jpg)
.gif)

.png)

