बहिष्कार गरेर बाहिरिएका रास्वपा सांसद संसद बैठकमा फर्किए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका छन् । बैठकको सुरुमै बोल्न समय मागे पनि सभामुख देवराज घिमिरेले नदिएपछि बहिष्कार गरेका उनीहरु करिब आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका हुन् ।
आफूहरुलाई सभामुखले दोस्रो दर्जाको सांसदको व्यवहार गरेको बताउँदै रास्वपाका सांसदहरुले १५ मिनेट बैठक बहिष्कारको घोषणा गरेका थिए । उनीहरु बैठक कक्ष प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेका थिए ।
आफूहरुले कुरा राख्न पाउनु पर्ने माग गर्दै रास्वपा सांसदहरुले बैठक सुरु भएपछि नै उठेर विरोध गरेका थिए । सभामुखको बारम्बारको आग्रहपछि पनि रास्वपा सांसदहरुले अडान नछाडेपछि करिब ३५ मिनेट दोहोरी चलेको थियो । सभामुखले उनीहरुको अवरोधका बीच कार्यसूचीअनुसार बैठक अघि बढाएपछि रास्वपा सांसदहरुले बैठक छाडेका थिए ।