संसदको चाबी त सरकारले नै पो बोक्दोरहेछ : अध्यक्ष सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताए ।
‘संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसदमा राख्न पाएका छौँ । अधिकतम ऐन कानुन यो संसद्बाट पारित गरौँ’, उनले भने । सुशासन र लगानी प्रवर्द्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उनले बताए । अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई सहजीकरण गर्नसक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो । भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उनले बताए । ‘वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ’, उनले भने । अध्यक्ष राउतले अदालतमाथि गम्भीर प्रश्न उठाएका छन् । शक्ति पृथकीकरण सिद्धान्तमा सीमित रहेको भन्दै डा. राउतले अदालतले समेत फैसला गर्नुअघि सरकारको फोन कुर्ने गरेको दाबी गरे ।
‘हामी शक्ति पृथकीकरण त भन्छौँ तर हामीले भोगेका छौँ, न्यायालय पनि के गर्छ भने पहिला सरकारको फोन कुरेर बस्छ, कि कोही मान्छेलाई थुन्ने हिरासतमा पठाउने कि पुर्पक्षमा पठाउने भनेर । सरकारी अधिकारीबाट जानकारी भएपछि बल्ल उसले फैसला गर्छ’, गम्भीर आरोप लगाउँदै राउतले भने, ‘बल्ल उसले पनि सोच्छ कि यो मान्छेलाई हतकडी लगाएर ७७ वटै जिल्ला घुमाउनु पर्ने हो कि, छाड्दिनु पर्ने हो कि, सार्वजनिक यातायातमा ल्याउनुपर्ने हो कि ।’
उनले हतकडी लगाउनु पर्ने हो कि नलाउनु पर्ने हो त्यो पनि कार्यपालिकाले नै न्यायपालिकालाई हस्तक्षेप गर्ने गरेको आरोप लगाए । हतकडी लगाउने वा नलगाउने निर्णय न्यायालयले नगर्ने विषयमा डा. राउतले बिना सूचना टिप्पणी गरेका थिए । प्रहरीले आफ्नो विवेकमा संवेदनशीलतासहितका कारण देखाएर हतकडी लगाउने नलगाउने निर्णय गर्ने भए पनि राउतले भने त्यसमा न्यायालयलाई दोष दिएका हुन् । उनले संसद्को चाबी पनि सरकारले नै बोक्ने गरेको भनेर शक्ति पृथकीकरणको अभ्यासमा प्रश्न उठाए । ‘संसद्को पनि साँचो सरकारले बोक्दो रहेछ । सरकारले नबोलाउँदासम्म अधिवेशन सुरुआत हुन नसक्ने अभ्यास हाम्रो देशमा रहेको छ’, राउतले भने ।