मामाघर आएकी बालिकाको शव गाडिएको अवस्थामा फेला, हजुरबुवासहित तीन जना पक्राउ

मोरङ । मोरङको विराटनगरमा गाडिएको अवस्थामा एक १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा हजुरबुबासहित तीन जना पक्राउ परेका छन् ।
भारतबाट एक महिनाअघि विराटनगरस्थित मामाघर आइकी १४ वर्षीया बालिका चाँदनी यादवको शव गाडिएको अवस्थामा भेटिएको हो । विराटनगर महानगरपालिका–५ स्थित कलरवा टोलमा रहेका मामाघरबाट करिब ४० मिटरको दूरीमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शुक्रबार उनको शव फेला पारेको हो ।
बिहार राज्यको छप्राहकी चाँदनीलाई उनकी आमाले एक महिनाअघि मात्र मामाघरमा ल्याएर छाडेकी थिइन् । पछिल्लो केही दिनयता उनलाई नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोधखोजका क्रममा मामाघरका हजुरबुवा सर्जु मण्डलले घर फर्किएको बताए पनि भारतबाट बुवाआमाले मामाघरमै रहेको जानकारी दिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा घर पछाडि नयाँ माटो देखेको र खन्दै जाँदा उनको शव फेला परेको मोरङ प्रहरीले जनाएको छ । उनको केही दिनअघि नै हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चाँदनीका मामाघरका हजुरबुवा सर्जु मण्डल, मामा र माइजुलाई नियन्त्रणमा लिएको छ । यद्यपि उनीहरुले अपराध आफूहरुले नगरेको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।