आफैलाई गोली हानेका प्रहरी जवान विष्टको मृत्यु
कञ्चनपुर । आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय विष्टले गत माघ ०९ गते बुधबार राति ड्युटीमा रहेका बेला आफैंलाई गोली हानेका थिए ।
गोली लागी विष्टको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई थप उपचारका लागि कैलालीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा विष्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यसअघि गत पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि ड्युटीकै समयमा आफैंमाथि गोली प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने भने अहिले उपचारपछि घर फर्किसकेका छन् । प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।