रविले भने–मेरो निलम्बन प्रक्रिया संगत छैन, सभामुखले के दिए जवाफ ?
काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यमान कानून, संसद् नियमावली र अभ्यास बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको बताएका छन् । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा नभई कानून पालना गरेको उनले बताए । निलम्बन फुकुवाको मागसहित भेट्न पुगेका लामिछानेलाई सभामुख घिमिरेले निवेदनका सम्बन्धमा परामर्शपछि निर्णयमा पुग्ने बताएका हुन्।
‘मैले विद्यमान कानून, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो,’ सभामुखको भनाइ उद्धृत गर्दै उनका प्रेस सहयोगी शेखर अधिकारीले सुनाए ।
सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि पुस ८ गतेदेखि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो । आफू अदालतबाट धरौटीमा रिहा भएकोले निलम्बनमा परेको सांसद पद फुकुवा हुनुपर्ने निवेदन लिएर लामिछाने शुक्रबार बिहान सभामुखलाई भेट्न पुगेका थिए ।
लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २७ बमोजिम गरिएको निलम्बन कानुनसम्मत नभएको भन्दै आजैदेखि प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवा गरिदिन सभामुखसँग माग गरे । पोखराको सुर्यदर्शन सहकारी बचत अपचलनसम्बन्धी मुद्दासँगै सम्पत्ति शुद्धीकरण मुद्दा पनि लागेपछि पुस ८ गतेदेखि लामिछानेको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा छ ।