जुम्लामा नौ हजार परिवार खानेपानीको पहुँचमा


२०८१ माघ ९ बुधबार १८:४७ बजे
फाइल फोटो

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका ६० वडाका करिब नौ हजारभन्दा बढी परिवारमा खानेपानीको पहुँच विस्तार भएको छ । जिल्लामा रहेका २४ हजार चार सय २२ परिवारमध्ये नौ हजार आठ सय ८६ मा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार भएको हो ।

जिल्लास्थित खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले बाँकी परिवारले सार्वजनिक धारा, कुवा, मूलको र नदीको पानी खाइरहेका बताए । उनले भने, ‘कार्यालयको तथ्याङ्कअनुसार १० हजार तीन सय २९ परिवारले सार्वजनिक धाराको पानी खाँदै आएका छन् । कुवाको पानी खाने ५९ परिवार छन् ।’ 

मूलधाराको पानी खाने तीन हजार आठ सय ७४, नदी–खोलाको पानी खाने दुई सय १४ र अन्यले पानीका अन्य स्रोतको प्रयोग गर्दै आएका कार्यालय प्रमुख महतले जानकारी दिए । अहिलेसम्म ४० दशमलव ४७ प्रतिशत परिवारमा ‘एक घर एक धारा’ पुगेको उनले बताए । हरेक घरमा खानेपानीका धारा पुर्‍याउने सरकारी लक्ष्य भए पनि पुग्न नसकेको छैन भन्दै कार्यालय प्रमुख महतले जुम्लामा बृहत् खानेपानीका आयोजना निर्माण हुन थालेका उल्लेख गरे । आगामी दिनमा सबै परिवारमा खानेपानीका धारा पुग्ने गरी काम भइरहेको उनले जानकारी दिए ।

कर्णाली प्रदेशमा ९६ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएका छन् । पर्याप्त खानेपानीको स्रोत भए पनि प्रशोधन अभाव र आवश्यकताअनुसार लगानी नहुँदा कर्णालीका ९६ प्रतिशत नागरिक खोलाको दूषित पानी पिउने गरेका कार्यालय प्रमुख महतले बताए । ‘प्रदेशका ८४ प्रतिशत परिवारमा खानेपानी सुविधा पुगेको तथ्याङ्क छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार कर्णाली प्रदेशको कूल जनसंख्या करिब १७ लाख छ । जसमध्ये ८४ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा छन्’, उनले भने । खानेपानी पहुँच नपुगेका परिवारमध्ये ९६ प्रतिशत नागरिक प्रदूषित पानी पिउन बाध्य रहेका सरकारी तथ्याङ्कले देखाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७