दुई तिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन् । विराटनगरस्थिति कोइराला निवासमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।
नेता कोइरालाले संविधान भन्ने बित्तिकै कांग्रेस र एमालेको मात्रै नहुने भएकाले सबैलाई समेटेर मात्रै संशोधन गर्न सकिने बताए । नेता कोइरालाले भने, ‘संविधान भन्ने बित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । अहिले कांग्रेस र एमालेबीच अलिअलि छलफल मात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए । नेता कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन् । उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने बताए । ‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने हो’, उनले भने ।
संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत भएको उनको टिप्पणी छ । ‘कांग्रेस र एमालेको बहुमत छ । बहुमतले पास गर्ने हो नि ! ऐन बनाउन दुई तिहाइ त चाहिँदैन’, नेता कोइरालाको सरकारसँगै असन्तुष्टि छ । यहींनेर उनले अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप भएको टिप्पणी गरेका हुन् । ‘अब त १८ गते संसद बोलाइसकियो । त्यो आफ्नो ठाउँमा भयो । तर, अध्यायदेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नु हुन्न । त्यो गलत कुरा हो’, नेता कोइरालाको भनाइ छ ।