नयाँ योजना थप्ने होइन, पुराना सक्नेमा जोड दिनु पर्छ : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप्नुभन्दा पुराना पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छ्न् । स्रोत साधन र आवश्यकताअनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने भए पनि थालिएका योजना अलपत्र पारिने क्रम अब अन्त्य हुनु पर्ने उनको भनाइ छ ।
नेपालगञ्जमा आयोजित संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतअन्तर्गतका कार्यालय प्रमुखहरू सहभागी कार्यशालाको आइतबार उद्घाटनका क्रममा उनले ‘क्रोनिक’ आयोजना तथा योजनाहरूलाई प्राथमिकता दिएर पूरा गर्न समेत दाहालले निर्देशन दिए ।
‘सरकारले आफूसँग भएको श्रोत साधन तथा आवश्यकताअनुसार नयाँ योजना तथा आयोजनाहरू नियमित रूपमा थप्ने र ल्याउने नियमित प्रक्रिया हो,’ मन्त्री दाहालले भने , ‘तर अब नयाँ योजना र आयोजनाहरू थप्नतर्फ भन्दा थालिएका कामहरू पूरा गर्न तर्फ जोड दिनु होला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।’
डिभिजन तथा आयोजना कार्यालयहरुले गर्नुपर्ने काम र अघि बढाउनु पर्ने प्रक्रि यालाई गति दिन निर्देशन दिँदै उनले नीतिगत तथा कानुनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिइने समेत बताए । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित विज्ञहरूले आयोजना सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा अभिमुखीकरण गर्नेछ्न् । यसअघि पोखरा, मोरङ र काठमाडौंमा यसै प्रकारको अभिमुखीकरण तथा प्रशिक्षण सम्पन्न भएको मन्त्रालयका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।