युद्धविरामसँगै हमासले आज तीन बन्धक रिहा गर्ने, विपिन जोशी पहिलो चरणमा नछुट्ने


२०८१ माघ ६ आइतबार २०:१५ बजे

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् ।

‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ’, बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ । यसअघि, इजरायलले स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम रिहा हुनेहरूको सूची इजरायलले प्राप्त नगरेसम्म सुरु नहुने बताउँदै गाजाका विभिन्न भागमा चेतावनीस्वरूप कारबाही जारी गरेको थियो । यसैबीच, हमास नेतृत्वको ‘सिभिल डिफेन्स एजेन्सी’ले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरायली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन् ।

उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार छ जना गाजामा मारिएका थिए भने तीन जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै विभिन्न स्थनमा गरी थप २५ जना घाइते भएका छन् । यसअघि, इजरायली सेनाले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशन भन्दै युद्धविराम सुरु नभएसम्म गाजामा सैन्य कारबाही जारी राख्ने बताएको थियो ।

प्रधानमन्त्री नेतन्याहुले आइतबार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए । सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो ।

हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्याण्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । तिनमा ८१ पुरुष १३ महिला छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७