बामदेवको एकता अभियान ‘छिन्नभिन्न’, अलग्गिएको समूह माओवादीसँग वार्तामा
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान ‘छिन्नभिन्न’ बनेको छ । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलग्गिएका छन् । आज (आइतबार) रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान त्यागको घोषणा गरेका छन् ।
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इञ्चार्ज थिए । त्यस्तै कर्णाली प्रदेश इञ्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इञ्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इञ्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् । उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी चार सदस्य वार्ता समिति समेत गठन गरेका छन् ।
वार्ता समितिको संयोजक अर्याल रहेका छन् भने काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य छन् । वामदेव निःशर्त ढङ्गले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढङ्गले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरूले बताएका छन् । एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरूको जिकिर छ । यता अभियानका नेतृत्वकर्ता वामदेव गौतमसहितका नेता एमालेमै फर्किने भएका छन् ।