ममाथि कुटपिट हुनु भनेको न्यायको पवित्रतामाथि हमला हुनु हो : अधिवक्ता त्रिपाठी
‘म कुटिँदा प्रहरी रमिता हेरेर बसे’
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूविरुद्ध कुटपिट न्यायको पवित्रतामाथिको हमला भएको बताएका छन् । त्रिपाठीले कर्तव्यपालनको क्रममा कानून व्यवसायीमाथि आक्रमण हुनु न्यायिक प्रक्रियामाथिको गम्भीर चुनौती भएको बताए । ‘न्यायको पवित्रतामाथि आक्रमण गर्ने अधिकार कसैलाई छैन’, उनले भने ।
आइतबार सर्वोच्च अदालत बार एशोसिएसनले त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्न आयोजित विरोध कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि कुटपिट हुँदा प्रहरी रमिता हरेर बसेको आरोप समेत लगाए । उनले भने, ‘प्रहरीले सुरुमा रमिता मात्रै हेरेर बस्यो । प्रतिक्रिया दिन धेरै ढिला गर्यो । अहिले पनि अनुसन्धान तीव्र हुनुपर्ने हो, तर त्यसमा कुनै गति देखिएको छैन ।’ त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा सहकारी ठगी प्रकरणको बहसपछि बाहिर निस्किने क्रममा आक्रमण भएको थियो ।
कालोपट्टी बाँधेर विरोध
वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको विरोधमा आइतबार नेपाल बार एशोसिएसन परिसरमा कानून व्यवसायीहरूले कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएसनको आह्वानमा आयोजित प्रदर्शनमा सहभागीहरू न्यायिक प्रक्रियामाथिको आक्रमणको कडा विरोध गर्दै दोषीलाई कारबाहीको माग गरे ।
नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालत परिसरमै आक्रमण हुनु कानून व्यवसायीहरूको सुरक्षामा गम्भीर प्रश्न उठ्ने घटनाको रूपमा व्याख्या गरेका छन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले त्रिपाठीमाथिको आक्रमणलाई निन्दनीय भन्दै राजनीतिक दलहरू र तिनका कार्यकर्ताहरूले यस्तो गतिविधिप्रति गम्भीर ध्यान दिनुपर्ने बताए । विरोधमा सहभागी कानून व्यवसायीहरूले त्रिपाठीमाथिको हातपातलाई न्यायिक प्रक्रियाको अवरोध र अदालतको अवहेलना भन्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे ।