युद्धविराम कार्यान्वयन नगर्ने नेतान्याहुको चेतावनी
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनालाई गाजामा तत्काल युद्धविराम सुरु नगर्न निर्देशन दिएका छन् । हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म युद्धविराम लागु नगर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) लाई युद्धविराम सुरु नगर्न निर्देशन दिएको उल्लेख गरेको छ ।
युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजेबाट सुरु हुने तय भएको थियो । हमासले भने बन्धकहरूको नाम सार्वजनिक गर्न भएको ढिलाइ ‘स्थानीय प्राविधिक कारणहरू’का भएको स्पष्ट पारेको छ । इजरायली नेताले गए राति नै गाजामा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ मात्र भएको चेतावनी दिएका थिए ।
यदि सम्झौता तोडियो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार हुने र यसमा उसलाई अमेरिकाको समर्थन हुने उनीहरूको भनाइ थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले इजरायल अझै रिहा गरिने तीन बन्धकहरूको नाम पर्खिरहेको जनाएको छ । युद्धविराम सम्झौताअनुसार बन्धक रिहा गर्ने प्रक्रिया सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अघि नाम उपलब्ध गराउनुपर्ने हुन्छ ।