सरकारले कहिले बोलाउँदैछ संसद वैठक ?
काठमाडौं । सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ । विपक्षी दलहरूले संसदको विशेष अधिवेशन माग गर्ने चेतावनी दिइरहेका बेला सरकारले भने माघ १८–२० गते अधिवेशन बोलाउने तयारी अगाडि बढाएको हो ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन आह्वान हुनसक्ने जानकारी दिएका छन् । उनले माघको १८ वा २० गते मा संसद बोलाउने तयारी अनुसार सल्लाह भइरहेको जानकारी दिएका छन् ।
यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले एक कार्यक्रममा बोल्दै अबको १५-२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए । संसद्को बर्षे अधिवेशन गएको भदौ ३१ गते अन्त्य भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने प्रचलन छ । संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।
पाँच महिना पुग्न लाग्दासमेत सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै विपक्षी दलहरूले सरकारलाई खबरदारी गरिरहेका छन् । एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था छ । संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।