अहिलेको सरकारको मुख्य उद्देश्य मुलुकको आर्थिक समृद्धि : गृहमन्त्री लेखक
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरिरहेको बताएका छन्। आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सरकारले चाँडै संसद अधिवेशन बोलाउने गृहकार्य गरिरहेको बताएका हु्न् ।
‘सरकारले चाँडै संसद अधिवेशन बोलाउने तयारी गरेको छ अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन नै सरकारले ल्याएका अध्यादेश प्रस्तुत हुन्छन् पछि प्रतिस्थापन गर्ने कानुन बन्छन् ।’ गृहमन्त्री लेखकले भने, ‘सरकार मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने कुरामा प्रतिबद्ध छ ।’ अहिलेको सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि गर्नु रहेको उनले बताए ।
‘नेपाली कांग्रेस र नेकपा एमाले दुई पार्टी मिलेर बनेको सरकारको उद्देश्य मुलुकको आर्थिक समृद्धि गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने हो ।’ लेखकले भने–‘मुलुकमा स्थायित्व र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ सरकार त्यहि अनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने बाटोमा अघि बढेको छ ।’ उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केहि कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए ।
उनले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन आग्रह गरे । ‘दुई पार्टीका बीचमा सात बुँदे सहमति भएका छन्, हामी त्यो सहमति कार्यान्वयन गछौं, त्यहि अनुसार सरकार अघि बढ्छ’ लेखकले भने । उनले अबको १८ महिना केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि निवार्चनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । ‘यो बीचमा हामी विकास र समृद्धिका कुरामा दृढतापूर्वक अगाडि बढ्छौं ।’ उनले भने, ‘दुई पार्टीका बीचमा भएका सात बुदे कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं ।’