रास्वपालाई मुकुलको सुझाव : रवि दाइ आफै लड्न सक्षम हुनुहुन्छ, तपाईहरू काममा फर्किनुस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कशित पूर्व महामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा फर्किन सुझाव दिएका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेकाले त्यसका लागि तयारी गर्न सुझाव दिएका छन् ।
‘पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको छ,’ उनले लेखेका छन्, ‘सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा हामी फर्कनै पर्छ ।’ उनले रास्वपा सदस्यहरुलाई आ–आफ्नो तहमा छलफल गर्न र त्यसपछि त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरेका छन् ।
‘तपाईको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवि र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस्,’ उनले थप लेखेका छन्, ‘केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जागृत गर्नुहोस् र संसदमा जनताको आवाज पुर्याउन आजैबाट पहल थाल्नुहोस्।’
पार्टी सभापति रवि लामिछाने आफ्नो अदालती मुद्दा लड्न सक्ने भएकाले पार्टीलाई जीवन्त राख्ने काम गर्न उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘रवि दाइ आफ्नो अदालती लडाइँ आफै लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।’