बाल गायक सचिन परियारको निधन
काठमाडौं । एक समय ‘भाइरल’ बाल गायक सचिन परियानको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हाँस्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए ।
पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।