छायाँदेवी सेन्टरको मुद्दा अब पूर्ण इजलासमा
काठमाडौं । ठमेलको छायाँदेवी सेन्टरको १० वर्षदेखि विचाराधीन मुद्दा पूर्ण इजलासमा गएको छ । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुगानाको संयुक्त इजलासले बिहीबार मुद्दा पूर्ण इजलासमा पठाउन आदेश गरेको छ । यो मुद्दा सर्वोच्चमा १० वर्षदेखि विचाराधीन अवस्थामा छ । सामान्यतया न्यायाधीशबीच राय बाझिँदा वा थप व्याख्या आवश्यक परेको खण्डमा मुद्दा पूर्ण इजलासमा पठाइन्छ ।
यो मुद्दामा न्यायाधीश सुवेदी र ढुंगानाको संयुक्त इजलासमा कात्तिक ७ गतेदेखि १४ गतेसम्म सुनुवाई भएको थियो । ठमेलको कमलपोखरी मिचेर छायाँदेवी सेन्टर बनाएको भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले २०७१ वैशाख ३० गते रिट दायर गरेका थिए । पोखरी नासेर छायाँ सेन्टर बनाइउको भन्दै अरु रिट पनि परेका थिए ।
१५ वटा रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश सुवेदी र ढुंगानाको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । रिट निवेदकले गुठीको नाममा रहेको जग्गामा बनाइएको भवन भत्काउनुपर्ने माग गर्दै आएका छन्। तर छायाँ सेन्टरले निर्माणको समयमा कुनै विवाद नआएको र निर्माणपछि मुद्दा हालेर निजी सम्पतिमाथि आँखा लगाइएको बताउँदै आएको छ ।
सन् २०१३ देखि पाँच वर्ष लगाएर पाँच अर्ब रुपैयाँ लागतमा करिब १५ रोपनी जग्गामा निर्माण गरिएको छायाँदेवी सेन्टर २०७५ पुसबाट सञ्चालनमा आएको थियो । पाँच तारे होटल अलफ्ट पनि रहेको कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटर, ब्याङकेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबका साथै बैंकका शाखा, एयरलाइन्स, ट्राभल एजेन्सी लगायतका कार्यालय छन् ।