घरायसी कलहपछि फुट्यो ज्योति समूह, पद्म ज्योतिको नेतृत्वमा नयाँ समूह
काठमाडौं । दुई दाजुभाइको पारिवारिक कलहका कारण एक शताब्दी पुरानो ज्योति समूह (ग्रुप) अन्ततः फुटेको छ । ज्योति समूहबाट पद्म ज्योति समूह अलगिएको छ । मणिहर्षले थालनी गरेको व्यवसायमा रूप र पद्मबीच झगडा हुँदा पारिवारिक व्यवसायमै नकारात्मक असर परिरहेको थियो । यहीबीच ‘पद्म ज्योति ग्रुप’ सुरु घोषणा भएको हो ।
पद्म ज्योति र छोरा सौरभ ज्योतिले यसलाई नयाँ अध्यायको सुरुवातको रुपमा अथ्र्याएका छन् । ज्योति ग्रुप छाडेर पद्म ज्योति ग्रुपबाटै ब्रान्डिङ गर्ने उनीहरुले आज (आइतबार) घोषणा नै गरेका छन् । पद्म ज्योतिले आफ्नो समूहको लोगो सार्वजनिक गर्दै नयाँ औद्योगिक समूह सञ्चालनमा आएको घोषणा पनि गरेका छन् । घोषणापछि विकास र सिर्जनशीलताको नयाँ यात्रा सुरु भएको दाबी गर्दै समूहले धेरै बाधा र चुनौतीहरू पार गरे पनि आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
ज्योति समूहबाट पद्मज्योति समूहमा भएको परिवर्तनले प्रगति, अनुकूलनता र नयाँ अवसरहरूको खोजीमा प्रतिबद्ध रहेको देखाउने उनको भनाइ छ । नयाँ घोषणासँगै पद्मा ज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्राण्डहरू सँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू ल्याएको जनाएको छ।
आइतबार एक विज्ञप्ति निकाल्दै पद्मज्योति समूहले भनेको छ, ‘हामी अगाडि बढिरहँदा, विकास र सिर्जनशीलताको लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गर्नु भएको उच्चगुणस्तर कायम राख्न प्रतिबद्ध छौं । हाम्रा दूरदर्शी लिडरहरू पद्म ज्योति, सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति र आरती ज्योतिको मार्गदर्शनमा हामी यो नयाँ अध्याय सुरु गर्न पाउँदा निकै उत्साहित छौं ।’
समूहको अध्यक्षमा पद्म ज्योति छन् भने मीरा ज्योति संस्थापक सदस्य तथा सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक छन् । यसअघि मुख्य सदस्य रहेका पद्म ज्योति र रूप ज्योतिबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । उनीहरूले बुवा मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापना गरेको ज्योति समूहबाटै संयुक्तरुपमा कारोबार सञ्चालन गर्दै आएका थिए । नयाँ समूह घोषणा गर्दै अध्यक्ष पद्म ज्योतिले बावुले खोलेको समूहलाई नै आफूले निरन्तरता दिएको दाबी गर्दै सोही विरासतलाई कायम राख्न नयाँ अध्याय सुरू गरेको बताए ।