हिटरको ग्यास लिक हुँदा आगलागी, एक घर जल्यो

काठमाडौं । काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ। टोखा नगरपालिका–६ घापासीस्थित कुँवर टोलस्थित भाइकाजी श्रेष्ठको साढे तीन तले घरमा आगलागी भएको हो। ८ वटा दमकलले आगो नियन्त्रणमा लिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।
आगलागीमा मानवीय क्षति भएको छैन । घरको भित्री भाग जलेर नष्ट भएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै काठमाडौं महानगरका नगर प्रहरी गरी एक सय चार सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिएका थिए। स्थानीय समेतको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको एसपी अधिकारीले बताए।
५ बजेर २३ मिनेटमा सुरु भएको आगलागी साँझ साढे सात बजे नियन्त्रणमा आएको हो । आगलागीका कारण सो घर आसपासका बासिन्दा समेत आतंकित बनेका थिए । ग्यास हिटर प्रयोग गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । जाडोमा ग्यास हिटर प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।