नौबिसे–मुग्लिन सडक एक साता आंशिक बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जानकारी दिएको छ ।
दुवै स्थानका घुम्ती सुधारका लागि ७–१३ पुससम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइने भएको हो । ३ पुसमा बसेको जिल्ला सुरक्षा समिति धादिङको निर्णय अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ । यसैगरी मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।
यस्तै विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिनेछ । तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुनेछ ।