छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता 


२०८१ पौष ४ बिहीबार २२:४१ बजे

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी बनेका कानुन कडाइका साथ लागू गर्नुपर्ने बताएका छन् । 

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा ‘दलित समुदायको अधिकार तथा विकास र कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धमा’ भएको छलफलमा मन्त्री गुप्ताले समाजमा छुवाछूतका घटनामा कुनै कमी नदेखिएकाले कानुन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘समाजमा अझै छुवाछूतका घटना छन् । यसको अन्त्य गर्न कानुन कार्यान्वयन हुनुपर्छ । सचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ । यो मस्यौदा अघि बढोस्, मन्त्रालयले सहजीकरण गर्छ ।’

समितिकी सभापति कमलादेवी पन्तले दलितका सवालमा राज्य संवेदनशील बन्नुपर्ने बताइन् । ‘सामाजिक न्याय दिगो विकासको एक लक्ष्य हो । त्यो पूरा गर्न यसमा वकालत जरुरी छ । यो विधेयक हिउँदे अधिवेशनमा पेस गर्ने हाम्रो लक्ष्य छ’, उनले भनिन् । समितिकी सदस्य सांसद उर्मिला अर्यालले व्यवहारमा परिवर्तन नै आउन नसकेको बताइन् । उनले भनिन्, ‘देशभरिको दलित समुदाय सङ्गठित हुुनुपर्छ । छुवाछूत गर्नेलाई जरिवाना तथा कारबाही गनैपर्छ ।’

सांसद तुलप्रसाद विश्वकर्माले सामाजिक रुपान्तरण भयो भने विभेद आफै हटेर जाने बताए । ‘सामाजिक रुपान्तरणका लागि के गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्छ’, उनले भने । सांसद नारायणदत्त भट्टले विभेद अन्त्य गर्ने भनिए पनि भनाइ र गराइमा तालमेल छ वा छैन भनेर आफैलाई प्रश्न गर्नुपर्ने बताए ।

बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा संकल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन सुझावसहित राष्ट्रियसभामा छलफलका लागि पेस गर्ने र सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयलाई दलितका अधिकार तथा विकासका सम्बन्धमा विधेयक संसद्मा पेस गर्न आवश्यक गृहकार्य अघि बढाउन निर्देशन दिने सभापति पन्तले जानकारी दिए । प्रतिवेदनले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न विधेयक मस्यौदा गरी सरकारले यथाशिघ्र संसद्मा पेस गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७