सांसद सिंहको टिप्पणी : अहिलेको गठबन्धन फेल भए, यो व्यवस्था नै ढल्छ
काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अहिलेको गठबन्ध फेल भएको खण्डमा वर्तमान व्यवस्था नै ढल्ने टिप्पणी गरेका छन् । आज (बिहीबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले संसदका दुई ठूला दल मिलेर गठित यो सरकार नै वर्तमान व्यवस्थाको अन्तिम सरकार भएको दावी गरे । उनले संसदका दुई ठूला दल मिलेर सरकार बनेको अभ्यास नेपाल बाहेक संसारमा कहीं नभएका समेत उनले बताए ।
उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएको कारणले व्यवस्था फेल भएको खण्डमा राजनीतिक दलभन्दा बढी कर्मचारी दोषी हुने बताए । सांसद सिंहले सादा पोसाकका प्रहरीलाई फिल्डमा खटाउन नहुने पनि बताएका छन् । घुमुवा प्रहरी खटाउनु नै परे घुमुवा पोसाकका प्रहरी मात्र खटाउनु पर्ने उनको भनाइ थियो । उनले भन्सार तथा यातायात कार्यालयहरुमा विचौलियामार्फत मात्र जनताको काम हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । निजामति विधेयकलाई पास गर्दा राजनीतिक दबाब र प्रभावमा पर्न नहुने उनले बताए । उनले सबै निजामति कर्मचारीका माग सम्बोधन हुनेगरी विधेयक ल्याउन जरुरी रहेको बताए ।
उनले थपे, ‘निजामति विधेयकलाई ख्याल ठट्टामा पास नगरौं कुनै पनि राजनीतिक दलको एजेण्डा नबनाऊ । राष्ट्र र जनताको एजेण्डा बोकौं । जनता अहिले धेरै मारमा छन् । राष्ट्र अहिले असफलतातिर गइरहेको छ । वर्तमान गठबन्धन फेल भयो भने यो व्यवस्था नै फेल हुन्छ नि । दुनियाँमा कँही पनि संसदका दुई ठूला दल मिलेर सरकार बनाउँदैनन् । यो अन्तिम टेस्ट हो । त्यसैले यो व्यवस्था फेल भएको खण्डमा यहाँको निजामती कर्मचारी पनि त्यत्तिकै दोषी हुन्छ ।’
उनले भने, ‘जनताको सरोकार राजनीतिक दलहरुभन्दा कर्मचारीहरुसँग बढी हुन्छ । भन्सार, मालपोत लगायतका क्षेत्र जनताको सिधा सरोकार कर्मचारीसँग हुने गरेको छ । अनि सभापति ज्यु प्रहरीमा घुमुवा बन्द गर्नुहोस् । घुमुवा प्रहरी खटाउने हो भने युनिफर्ममा जाओस् । भन्सार तथा यातायात कार्यालयहरुमा एजेण्ट बन्द गर्नुहोस् । विचौलिया बनाउने काम राज्यले ने गरेको छ । जनताको काम राज्यबाट नभई विचौलियाबाट हुने गरेको छ । ठूलो विचौलिया हटाउने त प्रधानमन्त्री कै क्षमता छैन हटाउने किनभने उहाँकै कार्यकर्ता हो । त्यसकारण मेरो एउटै भनाइ के छ भने यो विधेयकलाई कुने राजनीतिक दलको दबाबमा परेर पास नगरौं । कर्मचारीका माग सम्बोधन हुनेगरी गरौं ।’