जलवायु परिवर्तनको कहर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा संकट


२०८१ मङ्सिर २५ मंगलबार १६:०८ बजे

–सुवास दर्नाल 
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उनको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो । ‘यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ’, उनले भनिन् । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाइन् । 

उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य जस्तै हुँदै गएको छ । खुम्बु क्षेत्रका स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार धेरैजसो महिलाहरू स्वास्थ्य संस्था पुग्दा प्रजनन्सम्बन्धी समस्या लिएर आउने गरेका छन् । कतिपय महिलाहरू आफ्नो समस्या चुपचाप सहेर बस्छन् भने केहीले मात्र जाँच गराउन आइपुग्छन् । 

महिनावारीको अवधि लम्बिने, असामान्य रगतस्राव हुने र गर्भधारणमा समस्या उत्पन्न हुने घटना बढिरहेको शेर्पाले बताइन् । ‘पहिले मेरो महिनावारी नियमित थियो तर अहिले महिनावारी अनियमित भइसकेको छ । यो परिवर्तन जलवायु परिवर्तनकै कारण भएको जस्तो लाग्छ’ सगरमाथा क्षेत्रकै अर्का एक शेर्पा थरकी महिलाले परिचय नखुलाउने शर्तमा भनिन् ।

‘विगतमा यस्तो हुँदैन थियो तर पछिल्लो १५ वर्षमा यहाँको परिवर्तनले हामी महिलालाई धेरै असर गरेको छ । मेरो मात्रै होइन, मेरा धेरै साथीहरूको पनि प्रजनन्मा समस्या भइरहेको बताएका छन् । उनीहरूको महिनावारी समयमा नहुने, रगत धेरै बग्ने, गर्भपतन हुने जस्ता समस्या यहाँका लागि सामान्य जस्तै भइसकेको छ । पुरुषहरूलाई खासै असर नगरे पनि महिलाहरूलाई यसको असर बढी छ ।’ हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन् । लबुचेका सङ्गम राई भन्छन्, ‘पछिल्लो केही वर्षयता चैत–वैशाखमा धेरै हिमपात हुने क्रम बढिरहेको छ । यो हिमपात पुस–माघमा हुनुपर्ने हो । अब समय त धेरै फेरियो ।’ हिमालमा यस्ता परिवर्तनका असरहरु देखिने क्रम बढ्दो छ । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा अनपेक्षित चुनौती थपेको छ । सगरमाथा क्षेत्रको खुम्बु हिमनदी छोटिँदै गएको र आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन् । 

आरोहीहरूद्वारा छोडिएका सामग्री र फोहोरका कारण तापक्रममा थप असर परिरहेको छ । पर्यटन व्यवसायी साङ्गे शेर्पा भन्छन्, ‘आधार शिविर वर्षैपिच्छे खाल्डोमा परिणत हुँदैछ । यो राम्रो सङ्केत होइन ।’ यसले स्थानीय पर्यावरण मात्र नभई महिलाहरूको जीवनशैली र स्वास्थ्यमा समेत असर पुर्‍याएको अभियान्ता प्रजिता कार्कीले बताइन् । ‘महिलाहरु घरदेखि बाहिर समेत बढी केन्द्रीत हुने भएकाले चुलोमा देखिएको असरदेखि हिमालको फेदमा देखिएको असरको शिकार बढी मात्रामा महिलाहरु भइरहेका छन् । यसलाई रोक्न र समाधान गर्न सबै एक हुनुको विकल्प छैन्’, कार्कीले भनिन् । 

प्रजनन् स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव
महिनावारी अनियमितताले महिलाहरूको जीवनमा ल्याउने दीर्घकालीन असरलाई नजरअन्दाज गर्न नसकिने खुम्बु क्षेत्रका स्वास्थ्यकर्मीहरूको भनाइ छ । गर्भाधानमा समस्या, बच्चा जन्माउने क्षमतामा गिरावट र मानसिक स्वास्थ्यमा प्रभाव जस्ता समस्या जलवायु परिवर्तनसँग सम्बन्धित हुने सङ्केत देखिएको छ । स्वास्थ्यकर्मी ङिमडोमा शेर्पाका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा जलवायु परिवर्तनले महिलाहरूको हर्मोन सन्तुलनमा असर गरिरहेको हुनसक्छ । 

यो समस्या समाधान गर्न विशेष स्वास्थ्य योजना र परामर्श सेवाको आवश्यकता छ । जलवायु परिवर्तनका कारण हर्मोन असन्तुलन र त्यसको शारीरिक तथा मानसिक प्रभावले महिलाहरूको प्रजननमा असर गरेको हुनसक्ने नेपाल चिकित्सक सङ्घका महासचिव सञ्जिव तिवारीको तर्क छ । ‘यहाँका महिलाहरूमा जलवायु परिवर्तनको असर भएको महसुस भयो तर यो गहिरो खोज र अध्ययनको विषय हुन सक्छ । यो सामान्य विषय भने होइन । यसलाई सामान्य सम्झँदै जाने हो भने भोलिका दिनमा यहाँका महिलाहरूमा ठूलो प्रजनन् समस्या नदेखिएला भन्न सकिन्न’, उनले भने । 

स्थानीय उत्पादन र खेतीमा गिरावट

खुम्बु क्षेत्रका खेतीयोग्य बालीमा समेत गिरावट आएको छ । खुम्जुङकी पासाङ ल्हामु शेर्पाका अनुसार गहुँ, जौ र फापरजस्ता बाली अब उब्जाउन कठिन भएको छ । ‘पहिले कति धेरै उवा र फापर हुन्थ्यो । अहिले बाली लगाउने बारी पनि बाँझो छोडिएको छ’ उनले भने । कृषि उत्पादन घट्नुले महिलाहरूको पोषण र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ।

खुम्जुङ क्षेत्रमा फल्ने हिमाली खेतीहरु अहिले उत्पादन हुनै छोडेको स्थानीय बताउँछन् । यसले गर्दा बालबालिकादेखि महिलाहरुको पोषणमा असर पर्नसक्ने सम्भावना बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । खेती नै हुन छोडेपछि विगतमा उवा, फापर, जौ जस्ता बालीहरु उब्जाउ हुने जग्गाहरु बाँझो पाखामा परिणत भएको स्थानीय फुरी शेर्पाले बताए । 

हिमनदीहरू खस्कँदै, हिमालहरु कालापत्थरमा परिणत हुँदै
सगरमाथा क्षेत्रका हिमनदीहरू छोटिँदै र पातलिँदै गइरहेका छन् । आरोहीहरूका लागि आधार शिविरका रूपमा परिचित क्षेत्रहरू अहिले पहिरोको जोखिममा परेका छन् । पर्यटन व्यवसायी कर्मा शेर्पा १५ वर्षदेखि सगरमाथा क्षेत्रमा पर्यटन व्यवसाय गर्दै आएका छन् । उनी भन्छन्, ‘पहिला आधार शिविरका हिमनदी चहकिला र सफा देखिन्थे, तर अहिले त आधार शिविर नै खाल्डो जस्तो देखिन्छ । हिउँ कम हुँदै गएर कालापत्थर देखिन थालेको छ ।’

पछिल्लो एक दशकमा हिमनदीहरूको पग्लिने दर तीव्र भएको छ । स्थानीय जानकार पासाङ शेर्पाका अनुसार यस क्षेत्रको तापक्रम वृद्धि र विगतमा आरोहीहरूद्वारा छोडिएका फोहोरले ग्लेसियरको संरचनामा प्रत्यक्ष असर पारेको छ । सगरमाथा क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा प्रत्यक्ष असर भोग्ने हिमाली क्षेत्रहरूमध्ये एक हो । बेमौसमी हिमपात अनियमित वर्षा र अस्वाभाविक तापक्रमले यहाँको हावापानीलाई परिवर्तन गरिरहेको छ । ‘पहिले पुस–माघमा हिउँ पर्दथ्यो, अहिले चैत–वैशाखमा हिउँ पर्न थालेको छ । यसले पर्यावरणीय सन्तुलन खलबलिएको छ’, गोरक्सेपका व्यवसायी हिरा कुलुङले भने । यस्तो परिवर्तनले हिमालको फेददेखि शिखरसम्मको जैविक र भौतिक संरचना जोखिममा परेको उनको भनाइ छ । 

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले हालै अजरबैजानमा आयोजित कोप सम्मेलनअघि सार्वजनिक गरेको प्रतिवेदनले हिमाली क्षेत्रको हिमगलनमा तीव्रता आएको देखाएको छ । सगरमाथा आरोहीहरूले आधार शिविरमा छोडेका फोहोरले पनि यहाँको तापक्रममा असर पुर्‍याएको छ । प्लास्टिक, खाद्यान्नका प्याकेट र अन्य गैरजैविक फोहोरले हिमनदीहरूमा सूर्यको प्रकाशको प्रभाव बढाएको जानकारहरुको तर्क छ । पर्यटन व्यवसायी पासाङ शेर्पाका अनुसार आरोहीहरू यहाँ आफ्नो सामग्री छोडेर फर्किन्छन् ।

सधैँ चाँदी झैँ टलक्क टल्कने हिमालहरु काला पहाडमा परिणत हुँदैछ जसका कारण पनि जलवायु परिवर्तनको असरको चपेटामा सगरमाथा क्षेत्र परेको पुष्टि हुने नाम्चेका लामाकाजी शेर्पाले बताए । उनले भने, ‘सगरमाथा नै अब कालो पहाड जस्तो देखिन थालेको छ, नाम्चेबाट देखिने हिमालहरु हेर्दा विरक्त लाग्ने भइरहेको छ । यी सबै समस्या जलवायु परिवर्तनको असरले नै देखिरहेको अभास हुन्छ ।’

जलवायु परिवर्तनको कारण र समाधान
जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगका महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने सम्भावना देखिएको छ । वातावरणविद् डा. राजन थापाका अनुसार शक्ति राष्ट्रहरूले चलाएका उद्योगहरू र विश्वव्यापी तापक्रम वृद्धिले नेपालको हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ । युनेस्कोको प्रतिवेदनअनुसार तापक्रमको वृद्धिले विश्व सम्पदा सूचीका प्राकृतिक सम्पदामा गम्भीर जोखिम थपिएको छ । यदि तापक्रम वृद्धिको नयाँ गति रोकिएन भने दुई डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना छ, जसले सगरमाथा क्षेत्रका हिमालहरू संरक्षणमा ठूलै मूल्य चुकाउनुपर्ने थापाको भनाइ छ । हिमालहरु पग्लिएर गइरहेका छन् । 

सामूहिक कदमको आवश्यकता

सगरमाथा क्षेत्रको पर्यावरणीय र सामाजिक समस्याको समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सामूहिक प्रयास गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न शक्ति राष्ट्रहरूले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । ‘यदि विश्वव्यापी तापक्रम वृद्धिमा रोक लागेन भने सगरमाथाका हिमनदीहरू केही दशकमै समाप्त हुनेछन्’, डा. थापाले चेतावनी दिने । जलवायु परिवर्तनले महिलाहरूको स्वास्थ्य र जनजीवनमा परेको असरले यो क्षेत्रका चुनौतीहरूको व्यापक अध्ययन र समाधानको खाँचो देखाएको छ । हिमाली क्षेत्रका महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि थप अनुसन्धान, स्वास्थ्य सेवा विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस कदम चाल्नु अपरिहार्य छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७