महाङ्काल मन्दिरको सत्तल पुरानै शैलीमा पुनर्निर्माण हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसरमा चौघेरा सत्तलको पुनर्निर्माण सुरू गरेको छ । सोमबार महानगरका उपप्रमुख सुनिता डङ्गोलले जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन् ।
‘काठमाडौंका सम्पदाको प्राचीनता र मौलिकता तस्बिरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौंं’, त्यस अवसरमा उपप्रमुख डङ्गोलले भनिन्, ‘प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ । व्यक्तिलाई समस्या परे, भगवान्का शरणमा जाने गरिन्छ । भगवान् स्थलमा उतारचढाव नहोस् ।’ समयमा कार्य सम्पन्न गर्न आग्रह गर्दै उनले भनिन् ।
योजनाको लागतअनुमान १० करोड १० लाख ७९ हजार दुई सय ७९ थियो। सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड पाँच लाख १० हजार छ सय १९ मा निर्माण गर्नेगरी कबोल गर्ने विनायक– एसपि–बोहोरा जेभि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । खरिद प्रक्रिया र लागतका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भनिन्, ‘परम्परागत निर्माण सामग्री र शैली पुनर्निर्माणको मुख्य विशेषता हो ।’
इञ्जिनियर रवीन्द्र रिजालका अनुसार सत्तल पाँच सय ८३ दशमलव ८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । हरेक तलाको क्षेत्रफल एक सय ९४ दशमलव ४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन् । पहिलो तलामा तीन वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ । यस माथि बुइँगल हुनेछ । रिजालका अनुसार विसं १९९७ मा खिचिएको तस्बिरका आधारमा पुनर्निर्माण गर्न लागिएको हो ।
विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको सत्तलको मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेशद्वार हुनेछ । सत्तल झिँगटीको छानायुक्त हुनेछ । सत्तल पुनर्निर्माणका लागि विसं २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । यसबाट पाँच वटा प्रस्ताव पेस भएका थिए। यीमध्ये चार वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए ।
निर्माण पक्षलाई गएको असार १९ गते कार्यादेश दिइएको हो । सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म रहेको छ । मन्दिरका पुजारी दीपक हर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब एक हजार तीन सय पाँच सय वर्ष अगाडि निर्माण भएको हो । मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती सुनाउँदै उनले भने, ‘तान्त्रिक शाश्वत बज्र र शिवको आकाश मार्गको यात्रासँग मन्दिर स्थापनाको कथा जोडिएको छ ।’